२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

थोत्रो साइकलले स्वर्ण

दीपक परियार

(पोखरा) — बुढ्यौलीले छोएपछि खिइँदै जाने दाँतजस्तै खिइएका छन् साइकलका टायर । १० थोत्रा साइकलका पार्टपुर्जा ‘एसेम्बल’ गरेर ४ वटा बनाइएको छ । त्यही थोत्रो साइकल लिएर सोनी गुरुङले १३ औं सागको ट्रायथलनमा स्वर्ण जितिन् । मुलुकको इज्जत राखिन् ।

थोत्रो साइकलले स्वर्ण

सात वर्ष पुरानो साइकल लिएर सोमबार पोखराका सडक नाप्दा उनलाई बारम्बार टायरकै चिन्ता लाग्यो । तालिम अवधिमा पटकपटक पन्चर भएको टायर भरपर्दो थिएन । अरू पुराना साइकलको पार्टपुर्जा नमिलाई हालिएको थियो । उनीसँगै ट्रायथलनमा नेपालबाट सहभागी अरू एक महिला र दुई पुरुषको साइकल पनि उस्तै थिए । उनले फेवातालमा ७५० मिटर पौडिइन् । २० किमि साइक्लिङ गरिन् र ५ किमि दौडिइन् । यो दूरी उनले १ घण्टा १३ मिनेट ४५ सेकेन्डमा पूरा गरिन् । भारत र श्रीलंकाका खेलाडीलाई पछि छोडिदिइन् । ‘खेलभरि साइकल पन्चर हुन्छ कि भन्ने मात्रै चिन्ता भयो,’ उनले भनिन्, ‘गतिलो साइकल भएको भए अझै चाँडै सकाउँथें ।’


धादिङ सिद्धलेक गाउँपालिकाकी उनी ६ वर्षअघि सशस्त्र प्रहरी बलमा भर्ती भइन् । पौडी सिकिन् । ४ वर्षअघि ट्रायथलनमा जोडिइन् । त्यतिबेलैदेखिको पुरानो साइकल अहिलेसम्म प्रयोग गरिरहेकी छन् । ‘साइकल चेन्ज गर्नुपर्छ भनेर कतिपल्ट भन्यौं तर सुनुवाइ भएन,’ स्वर्ण जितेपछिको खुसी लुकाउँदै उनले भनिन्, ‘जुन प्रतियोगितामा पनि पन्चर हुन्छ कि भन्ने मात्रै डर हुन्छ ।’


ट्रायथलनका खेलाडीले ट्राइसुट लगाउनुपर्छ । जसमा देश र खेलाडीको नाम लेखिएको हुन्छ । सोनीले ट्राइसुटबिनै खेलिन् । त्यसको सट्टामा स्वीमसुट लगाउन बाध्य भइन् । ट्राइसुटको व्यवस्था नहुँदा उनको र देशको नाम स्वीमसुटमा लेखिएन । ‘बाटोमा भेट्नेले मलाई नेपाली हो भनेर सोध्नुभयो,’ मलिन स्वरमा उनले भनिन्, ‘नाम लेखिएको ट्राइसुट नहुँदा म नेपाली नै हो भन्नुपर्‍यो । नेपालमै बन्ने भए आफैं बनाउँथें । विदेशबाट मगाउनुपर्छ ।’ उनका अनुसार पहिले भएका ट्राइसुट सबै थोत्रो भइसके । नयाँ ट्राइसुटको २० देखि ५० हजार रुपैयाँसम्म पर्छ । साइकल र ट्राइसुट सागअघि आउँछ भन्दाभन्दै आएन । पुरानै साइकल र ट्राइसुटमा सोनीले सागको इतिहासमै ट्रायथलनमा नेपाललाई पहिलो स्वर्ण दिलाइन् ।


उनी आफ्नो सफलताको श्रेय अस्ट्रेलियन प्रशिक्षक लार्स ओल्सनलाई दिन्छिन् । परम्परागत तरिकाले ट्रायथलनको तालिम गरिरहेका खेलाडीलाई लार्सले नयाँ तौरतरिका सिकाए । पौडीका प्रशिक्षक सानु पौडेल, दौड र साइक्लिङका प्रशिक्षक नारायण चौधरी र आर्मीका प्रशिक्षक राजीव चन्द उनको सफलतासँगै जोडिएर आउँछन् । ‘हामीले तालिम योजना नै बनाउन सक्दैनौं,’ उनले भनिन्, ‘अन्तिम एक महिना विदेशी प्रशिक्षक पाएर यत्तिको भयो । पहिले नै पाएको भए अझै राम्रो हुन सक्थ्यो ।’


त्यसो त खेल सुरु हुनुभन्दा दुई दिनअगाडि पोखराबाट काठमाडौं र काठमाडौंबाट पोखराको यात्राले थकित थिए खेलाडी । प्रधानमन्त्रीले सम्बोधन गर्ने बताइएपछि प्रशिक्षणमा रहेका खेलाडीलाई रातारात काठमाडौं लगिएको थियो । खेलाडीले शारीरिक थकानले प्रतियोगितामा असर पर्ने बताउँदा बताउँदै पनि बाध्यतापूर्वक काठमाडौं लगिएको सोनी बताउँछिन् । उनले भनिन्, ‘माथिका मान्छेले काठमाडौं नआए खेल नै हुन दिन्नौंसम्म भने ।’


बुधबार हुने मिक्स रिलेमा उनी त्यही थोत्रो साइकल र स्वीमसुट लिएर भाग लिँदैछिन् । २५ वर्षीया सोनीको लक्ष्य स्वर्ण नै छ । यसअघि उनले बेगनास तालमा भएको हिमालय रेसमा पहिलो भएकी थिइन् । पोखरामा हुने एसियन च्याम्पियनसिपमा दोस्रो र तेस्रो हुँदै आएकी थिइन् ।


पुरुष ट्रायथलनमा भारतलाई स्वर्ण

१३ औं सागअन्तर्गत पोखरामा सोमबार भएको ट्रायथलनको पुरुषतर्फ भने भारतका आदर्श एमएसले स्वर्ण जिते । उनले १ घण्टा २ मिनेट ३१ सेकेन्डमा निर्धारित दूरी पूरा गरे । निर्धारित दूरी १ घण्टा २ मिनेट ५९ सेकेन्डमा पार गर्दै विश्वरजित साइखोमले भारतलाई रजत दिलाए । नेपालका लागि वसन्त थारू १ घण्टा ३ मिनेट ६ सेकेन्डमा दूरी पार गर्दै कांस्य जित्न सफल भए ।


महिलातर्फ रजत र कांस्य दुवै भारतले कब्जा गर्‍यो । निर्धारित दूरी १ घण्टा १४ मिनेटमा पार गर्दै सरोजिनी देवी थाउदमले रजत र १ घण्टा १४ मिनेट ५७ सेकेन्डमा दूरी पार गर्दै प्रग्न्या मोहनले कांस्य जितेका हुन् ।


स्वर्ण जिते पनि दूरी पूरा गर्ने समयमा अझ राम्रो नतिजा निकाल्न नसकेको नेपालका लागि ट्रायथलनका मुख्य प्रशिक्षक युवराज सुनुवारले बताए । ‘भारत हाम्रो मुख्य प्रतिद्वन्द्वी हो । हामीले महिलातर्फ २ स्वर्ण र मिक्स रिलेमा १ स्वर्ण प्राप्त गर्ने गरी प्रशिक्षण गराएका थियौं,’ उनले भने, ‘पुरुषमा केही कमजोर देखिए पनि दुवाथलनमा स्वर्णको आस गरेका छौं । पुरुषतर्फ रजत जित्नेमा हामी ढुक्क छौं ।’


तीन दिन चल्ने ट्रायथलनको पुरुष र महिला दुवै विधामा हुने प्रतियोगितामा नेपाल, भारत र श्रीलंकासहित ३ देशका २६ खेलाडी सहभागी छन् । मंगलबार पुरुष र महिलातर्फको स्प्रिन्ट विधाको दुवाथलन र बुधबार मिक्स रिले ट्रायथलन हुने भएको छ । दुवाथलनका लागि ५ किमि दौड, २० किलोमिटर साइक्लिङ र २.५ किलोमिटर दौडको दूरी तय गरिएको छ । मिक्स रिले ट्रायथलनका लागि ३ सय मिटर पौडी, ६ किमि साइक्लिङ र २.५ किमि दौड हुनेछ ।


दोस्रोपटक सहभागी बनेको नेपालले यसअघि १२ औं सागमा मिक्स टिम रिलेतर्फ १ रजत र महिला स्प्रिन्ट विधामा एक कांस्य जितेको थियो । स्वर्ण विजेता सोनीलाई नेपाल ट्रायथलन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठले एक लाख रगण्डकी प्रदेश सांसद दीपक कोइरालाले २५ हजार दिने घोषणा गरेका छन् ।


प्रकाशित : मंसिर १७, २०७६ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?