कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

नेपालको पहिलोपल्ट श्रीलंकाविरुद्ध जित

राजेन्द्र नाथ

काठमाडौँ — सन् १९९१ मा पाकिस्तानको इस्लामाबादमा भएको पाँचौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा टेबलटेनिसबाट ऐतिहासिक स्वर्णपदक भित्र्याउँदा त्यस खेलकी प्रमुख सदस्य थिइन्, गीता क्षेत्री शाह । १३ औं संस्करणमा भने उनी दर्शकदीर्घामा भेटिइन् । जहाँ सोमबार पुरुष टिम इभेन्टमा नेपालले श्रीलंकाविरुद्ध सनसनीपूर्ण जित पाएको छ । 

नेपालको पहिलोपल्ट श्रीलंकाविरुद्ध जित

घरेलु दर्शकको साथमा लैनचौरस्थित टेबलटेनिस हलमा श्रीलंकन खेलाडीमाथि हाबी भएका नेपाली खेलाडीले लिग चरणको पहिलो खेलमा सुखद सुरुवात गरे । शिवसुन्दर गोथे, स्यान्टु श्रेष्ठ र पुरुषोत्तम वज्राचार्यको जोडीले दाबेदार श्रीलंकन खेलाडीलाई पन्छाए ।


अब नेपालले सेमिफाइनल पुग्न मंगलबार माल्दिभ्ससँग खेल्नेछ । महिला टिम इभेन्टमा भने श्रीलंकाले नेपाललाई हरायो । अर्को समूहको बलियो मानिएको भारतले अनुमान गरिएझैं सबै खेलमा जित निकालेको छ ।


पुरुष टिम इभेन्टमा नेपालले पहिलो खेल गुमायो । शिवसुन्दर गोथे श्रीलंकन खेलाडीसँग ११–६, ११–८, १२–१० ले पराजित भए । त्यसपछि स्यान्टु श्रेष्ठ र पुरुषोत्तम वज्राचार्यले भने लय समाते । स्यान्टुले ११–९, ११–४, ११–२ अंकसाथ जित निकाले । पुरुषोत्तमलाई भने श्रीलंकनले कडा चुनौती दिए । उनले एक सेट गुमाए । तीन सेट समान १२–१० ले आफ्नो पक्षमा पारे ।


अन्तिम निर्णायक खेलमा स्यान्टुले पनि कडा मिहिनेत गर्नुपर्‍यो । पहिलो सेट ११–८ ले गुमाए पनि घरेलु दर्शकको हुटिङमाझ उनले दोस्रो सेटमा श्रीलंकन खेलाडीसँग ११–८ अंककै बदला लिए । श्रीलंका फेरि खेलमा फर्कियो र ११–८ कै नतिजा दोहोर्‍यायो । चौथो र पाँचौं सेटमा भने स्यान्टुले क्रमश: ११–९, ११–६ अंक जोड्दै नेपाललाई अर्को चरणमा प्रवेश गराए । स्यान्टु, पुरुषोत्तम र शिवसुन्दर अनुभवी खेलाडी हुन् ।


उनीहरूले अपेक्षाअनुरूप राम्रो खेलेर खुसी बाँडेको प्रशिक्षक मोहनदास बासुकलाले बताए । ‘अरू चरण बाँकी नै छन् । जति स्रोतसाधन लगानी गरिएको छ । त्यहीअनुरूप खेलाडीले राम्रो नतिजा दिनेमा ढुक्क छु,’

उनले भने । स्यान्टुले बिना दबाब खेलेको प्रतिक्रिया दिए । ‘अघिल्लो सेट जितेपछि मनोबल बढ्यो । तनाव नलिई खेलें,’ उनले भने । स्यान्टु साग छनोटको अघिल्लो दिन मोटरसाइकल दुर्घटनामा घाइते भएका थिए । ४० दिनको आरामपछि प्रशिक्षणमा फर्किएका थिए ।


मंगलबारै अर्को समूहको खेलमा भारतले पाकिस्तान र बंगलादेशलाई हरायो । दुवै खेलमा विजयी भएको भारत सेमिफाइनल पुगिसकेको छ । श्रीलंकाले यसअघि भएको पहिलो खेलमा माल्दिभ्सलाई पराजित गरेको थियो । महिला टिम इभेन्टमा पनि भारतले माल्दिभ्स र पाकिस्तानलाई निराश पार्‍यो । श्रीलंकाले बंगलादेशलाई हरायो । भारत महिलातर्फ पनि सेमिफाइनलमा पुगिसकेको छ । नेपाली टोली भने श्रीलंकासँग पराजित भयो । नेपालले मंगलबार बंगलादेशसँग खेल्ने तालिका छ ।


सन् १९८७ मा भारतको कोलकातामा भएको तेस्रो संस्करणमा पहिलोपल्ट टेबलटेनिस सहभागी भएको थियो । त्यसयता निरन्तर सहभागिता रहँदै आएको छ । टेबलटेनिस खेलमा हालसम्म नेपालले १९ पदक

ल्याएको छ । त्यसमा एक स्वर्ण, तीन रजत र १५ कांस्य पदक छन् । यसपटक सागमा टेबलटेनिसतर्फ विभिन्न ७ विधामा प्रतिस्पर्धा भइरहेको छ ।


प्रकाशित : मंसिर १७, २०७६ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?