कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

उसुमा पहिलो दिन २ स्वर्णको आस

काठमाडौँ — १२ औं सागमा रजतपदक जितेका विजय सिंजाली र सुस्मिता तामाङको दक्षिण एसियाली खेलकुदमा स्वर्णको प्रतीक्षा उसुको पहिलो दिन मंगलबार नेपाली सेनाको लगनखेलस्थित सैनिक शारीरिक तथा खेलकुद तालिम केन्द्रमा हुने प्रतिस्पर्धाले छिनोफानो गर्दै छ ।

उसुमा पहिलो दिन २ स्वर्णको आस

सिलोङमा तीन वर्षअघि थाउलुको छानछ्वान व्यक्तिगत स्पर्धामा दोस्रो स्थानमा सीमित हुँदा विजय १७ वर्षका थिए भने सुस्मिता १६ । विजयको १२ औं साग सिनियर स्तरमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो भने सुस्मिताको दोस्रो । यसपालि यी दुवै अनुभवी र परिपक्व हुँदै स्वर्ण पदक हात पार्ने लक्ष्यसहित १३ औं सागमा प्रतिस्पर्धा गर्ने संघारमा आइपुगेका हुन् । सुस्मिताले महिलातर्फ छान छ्वान र विजयले पुरुषतर्फ त्यही स्पर्धामा चुनौती प्रस्तुत गर्दैछन् ।


अक्टोबरमा सांघाई, चीनमा भएको विश्व उसु च्याम्पियनसिपमा ८८ खेलाडीमध्ये १६ औं स्थानमा रहेका थिए । उनले १० पूर्णांकको स्पर्धामा ९.४२ अंक जोडेका थिए । त्यसैले उनले यो सागमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जित्नेमा थाउलुका प्रशिक्षक प्रकाश लामा ढुक्क छन् । ‘विजयले विश्व च्याम्पियनसिपमा राम्रो प्रदर्शन गरेका थिए । यो सागमा पनि ९.३ अंकभन्दा बढी ल्याउने आस गरेको छु,’ प्रशिक्षक लामाले भने ।


सुस्मिताले विश्व च्याम्पियनसिपमा ७.८८६ अंक जोड्दै ४५ खेलाडीमध्ये ३४ औं स्थान हासिल गरेकी थिइन् । त्यसमा ‘डिफिकिल्टज अफ डिग्री’ परिवर्तन गर्दा गाह्रो भएको उल्लेख गर्दै प्रशिक्षक लामाले भने, ‘उनले ट्रेनिङमा राम्रो गरिरहेकी छन् । त्यसअनुसार ९ अंकभन्दा बढी ल्याउनुपर्छ ।’ खाली हात गरिने कला प्रदर्शनी ‘छानछ्वान’ मा १२ औं सागमा रजत हात पार्ने क्रममा सुस्मिताले ८.७ र विजयले ८.८ अंक बनाएका थिए ।


‘यो सागका लागि डिफिकल्टिज अफ डिग्री परिवर्तन गरेर पुरानै शैली अपनाएकी छु,’ सुस्मिताले भनिन्, ‘९ अंकभन्दा बढी जोड्ने लक्ष्य राखेकी छु ।’ यसपालि उनको स्पर्धामा श्रीलंका र बंगलादेशका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । विजयले भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशी खेलाडीको चुनौती सामना गर्नेछन् ।


उसुमा पहिलो दिन हुने दुई स्वर्णको प्रतिस्पर्धाबारे प्रशिक्षक लामाले भने, ‘अरू देशका खेलाडी पनि राम्रा छन् । श्रीलंका र बंगलादेश पनि राम्रै छन् । हाम्रो मुख्य चुनौती भने भारतीय खेलाडी नै हुन् । तर विजय र सुस्मिताले उत्कृष्ट प्रदर्शन गर्दै सफलता हात पार्नेमा विश्वस्त छु ।’


उसुमा थाउलुमा ८ र सान्सौं (फाइट) मा १४ गरी २२ स्पर्धा समावेश गरिएको छ । त्यसमध्ये हरेक देशले बढीमा १७–१७ स्पर्धामा मात्रै सहभागी हुन पाउँछन् । थाउलुमा कविता थापा (चियान्सु छियान्सु) आफ्नो स्पर्धामा एक्लो खेलाडी भएपछि उनले यो सागमा प्रतिस्पर्धा गर्न पाइनन् । १२ औं सागमा स्वर्ण जितेकी निमा घर्तीमगरसहित थाउलुका अरू ५ स्पर्धा दुई चरणमा दुई दिन सञ्चालन हुन्छ । उनीहरूको स्पर्धा पनि मंगलबार नै सुरु हुनेछ ।


नान छ्वान अलराउन्डमा महिलातर्फ निमा घर्तीमगर र पुरुषमा दीपक हमालले प्रतिस्पर्धा गर्दैछन् । थाची छ्वान अलराउन्डमा १२ औं सागका रजत विजेता हरिप्रसाद गोले (पुरुष) र मीना ग्लान (महिला) ले उत्कृष्ट प्रदर्शन गर्ने आशा गरिएको छ भने ताउसु कुन्सुमा पछिल्लोपल्ट रजत विजेता विश्व बुढामगरले चुनौती प्रस्तुत गर्दैछन् । उसुको तुलनामा अलि कडा हुने कराँतेको म्याटमा गरिएको ट्रेनिङले थाउलुमा असर गर्न सक्छ ।


‘सातै स्पर्धामा हाम्रा खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने आशा गरेका छौं,’ थाउलु प्रशिक्षक प्रकाश लामाले भने, ‘हामीले अहिलेसम्मको सबैभन्दा ठूलो सफलताका रूपमा बंगलादेशमा भएको ११ औं साग २०१० मा २ स्वर्ण जितेका थियौं । यसपालि त्यो उपलब्धि उछिन्ने छौं ।’ विश्व च्याम्पियनसिपमा शीर्ष नौसम्म पुगेका दीपकसहित विजय, निमा, सुस्मिता बढी आशा गरिएका खेलाडी हुन् । ‘हरेक चरणमा १० पूर्णांक हुन्छ त्यसमा कम्तीमा नौ अंक जोड्यो भने हामी स्वर्ण जित्न सक्छौं,’ उनले भने ।


प्रकाशित : मंसिर १७, २०७६ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?