२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

करातेमा ७ स्वर्णको दबदबा

विनोद पाण्डे

काठमाडौँ — नेपालले दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणको करातेको पहिलो दिन ९ मध्ये ७ स्वर्ण पदक जितेको छ । यसले करातेमा नेपालको वर्चस्व हुने स्पष्ट संकेत दिएको छ । पराजित दुई स्पर्धामा पनि नेपालले रजत पदक हात पारेको हो । करातेमा अझै १० स्वर्ण छिनोफानो हुन बाँकी छ ।

करातेमा ७ स्वर्णको दबदबा

सातदोबाटोस्थित कराते हलमा पाकिस्तानीसँग नेपाली खेलाडीको राम्रै प्रतिस्पर्धा रह्यो । नेपालले जित्न नसकेको दुई स्वर्ण पाकिस्तानले हात पार्‍यो । नेपालले जितेका ७ मध्ये ३ स्वर्णमा पाकिस्तानी खेलाडी फाइनलमा प्रतिद्वन्द्वी थिए । मन्डेकाजी श्रेष्ठ, लक्ष्मण तामाङ, विप्लवलाल श्रेष्ठ, कुसुम खड्का, अनु अधिकारी, नेपाली टिम काता पुरुष र महिलाले सोमबार स्वर्ण जिताएका हुन् ।


‘हाम्रो र अरू देशको तयारीबीच खासै फरक थिएन । तर आफ्नो भूमि भएकाले हाम्रो मनोबल बढेको थियो । खेलाडीको प्रदर्शन अरुको हाराहारीमा थियो, जित्न त हामीले जित्यौं, त्यसमा कुनै लबिइङ थिएन,’ नेपाली करातेका मुख्य प्रशिक्षक मदन उप्रेतीले भने, ‘पहिलो दिनमा मैले ५ वा ६ वटा स्वर्ण पदकको मात्र आस गरेको थिएँ । ५ चाहिँ जित्छौं नै भन्ने थियो । स्वर्ण नै आस गरेकी चञ्चला (दनुवार) हार्न पुगिन् । मन्डेकाजीको पनि व्यक्तिगतमा गाह्रो देखेको थिएँ, टिम काता राम्रै थियो । मन्डेकाजीको जुन खेल छ, त्योभन्दा उसले राम्रो खेल्यो । दुई स्वर्ण जित्ने अवसर कहिल्यै नआउने बुझेर होला उसले निकै राम्रो खेल्यो ।’


नेपालको सुरुआत राम्रो रहेन । महिला कातामा चन्चला पाकिस्तानकी शाहिदासँग पराजित हुन पुगिन् । फाइनलमा चन्चलाको २४.६२ को तुलनामा शाहिदाले २५.२८ स्कोर गरेकी थिइन् । निकै प्रभावशाली प्रदर्शन गरेकी शाहिदाले बंगलादेशी खेलाडीसँगको पहिलो खेल जित्ने क्रममा पनि २४.८२ को स्कोर गरेकी थिइन् । जबकि चन्चलाले भुटानकी सोनम ल्हामोसँग खेल जित्दा २४.०२ स्कोर गरिन् ।


जारी सागमा नेपाललाई पहिलो स्वर्ण मन्डेकाजीले दिलाए । उनले फाइनलमा पाकिस्तानी खेलाडीविरुद्ध २५.७२ को स्कोर गरे । पाकिस्तानीले २४.९२ को स्कोर गरे । मन्डेकाजीले पहिलो खेलमा २४.०८ र पाकिस्तानीले आफ्नो पहिलो खेलमा २३.६८ स्कोर गरे । मन्डेकाजीले दोस्रो स्वर्ण टिम काताबाट जिते । उनले पुरुषतर्फको टिमकातामा महसुस तामाङ र प्रवीण मानन्धरसँग मिलेर नेपाललाई स्वर्ण दिलाए । उनीहरूले श्रीलंकाको २५.२८ को तुलनामा २५.५४ को स्कोर गरे । नेपाली टिमले पहिलो खेलमा बंगलादेशलाई पराजित गर्दा २५.१४ स्कोर गर्‍यो । बंगलादेशले २४.८८ स्कोर गरेर नेपाललाई बलियो चुनौती तेर्स्याएको थियो ।

महिला टिम कातामा पनि नेपालले फाइनलमा पाकिस्तानलाई नै हराएको थियो । निर्मला तामाङ, संगीता मगर र सरु कार्कीको टिमले फाइनलमा २४.८८ स्कोर गर्‍यो । दुई पटक खेलाडीहरू चिप्लिन पुग्दा पाकिस्तान २३.०३ को स्कोरमा रोकियो । नेपालले पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो । नेपालले २४.१४ र श्रीलंकाले २२.५४ स्कोर गरे ।


५५ केजी तौलमा लक्ष्मण तामाङले स्वर्ण जिते । बंगलादेशका मोहम्मद मुस्ताफासँगको सुरुआती अग्रता उनले अन्तिमसम्म कायम राखे । उनले पहिलो खेलमा श्रीलंकाका वार्नापुरा असुरियायेलाई ५–१ स्कोरले पराजित गरे । तर ८४ केजीमुनि दिवस श्रेष्ठ फाइनलमा पराजित हुन पुगे । पाकिस्तानका अवेश मोहम्मदसँग उनी ‘अयोग्य’ हुन पुगे । क्याटगोरी २ को अनावश्यक क्लिनच्डमा उनलाई ‘अयोग्य’ घोषित गरिएको थियो । ६ सेकेन्ड बाँकी रहँदा खेल २–२ को स्कोरमा थियो । विपक्षीलाई कम्मरमा समातेको भनी निर्णायकले खेल रोकेर उनलाई अयोग्य घोषित गरेका थिए । २–२ को स्कोरमै निर्धारित ३ मिनेट टुंगिएको भए उनले नै पहिलो स्कोर गरेको आधारमा स्वर्ण जित्ने थिए । १५ सेकेन्ड बाँकी हुँदासम्म उनी २–१ ले अगाडि थिए । पहिलो खेलमा उनले बंगलादेशका मोहम्मद रमजानलाई ६–१ ले पराजित गरेका थिए ।


विप्लवलाल श्रेष्ठले ८४ केजीमाथि उत्कृष्ट पुनरागमन गर्दै स्वर्ण जिते । फाइनलमा उनले पाकिस्तानका मोहम्मद बाजलाई ६–५ अंकले पराजित गरे । विप्लव पहिला २–० ले र पछि ४–३ ले पछाडि रहेको अवस्थामा दुईपल्ट वाजारी प्रहार गरेर खेल उल्टाएका थिए । फाइनल पुग्नुअघि अन्तिम खेलमा उनले श्रीलंकाकी म्यागोना विमलासारीलाई टेक्निकल आधारमा पराजित गरे । १ मिनेट १० सेकेन्डको खेल बाँकीमा विप्लवले ८–० को स्कोर गरेका थिए ।


दिनको अन्तिम दुई स्पर्धामा कुसुम खड्का र अनु अधिकारीले स्वर्ण जिते । कुसुमले ४५ केजीमा बंगलादेशकी मोन्जेरा बोर्नालाई ३–२ अंकले पराजित गरिन् । पहिलो खेलमा उनले श्रीलंकाकी सेनारथ अर्चाचिगेलाई ७–६ अन्तरले हराइन् । खेलअघि अनुसँगमात्र सागको पदक थियो । उनले २०१० को बंगलादेश सागमा रजत पदक जितेकी थिइन् । यसपल्ट उत्कृष्ट शैलीमा उनी एक कदम अगाडि बढिन् । दुवै खेल उनले टेक्निकल आधारमा जितिन् । पहिलो खेलमा बंगलादेशकी फमिदा अख्तरलाई ८–० को स्कोर गर्दा ५० सेकेन्डको खेल बाँकी थियो । फाइनलमा उनले श्रीलंकाकी डन बदलगेमाथि १.१६ सेकेन्ड अगाडि नै ८–० स्कोर गरेकी थिइन् ।


प्रकाशित : मंसिर १७, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?