अञ्जलीको कीर्तिमानी बलिङ

दीपक परियार

(पोखरा) — अन्जली चन्दले ट्वान्टी–२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा कीर्तिमानी बलिङ गरेकी छन् । उनको प्रदर्शनमा नेपालले सोमबार पोखरा रंगशालामा भएको १३ औं सागको महिला क्रिकेटको पहिलो खेलमा माल्दिभ्सलाई १० विकेटले पराजित गरेको थियो ।

अञ्जलीको कीर्तिमानी बलिङ

आफ्नो पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेलिरहेकी अञ्जलीले २.१ ओभरमा २ मेडन राख्दै कुनै रन नदिई ६ विकेट लिइन् । यो महिला ट्वान्टी–२० अन्तर्राष्ट्रियकै उत्कृष्ट बलिङ प्रदर्शन हो । यसअघि ५ खेलाडीले एकै खेलमा ६ विकेट लिएका छन् ।


अन्जलीले दुई ओभरमा ह्याट्रिक विकेट पनि लिइन् । उनले आफ्नो दोस्रो ओभर तथा नेपालको नवौं ओभरको चौथो र पाँचौं बलमा इशाल इब्राहिम र किनाथ इस्लामीलाई आउट गरिन् । आफ्नो तेस्रो ओभर तथा दसौं ओभरको पहिलो बलमा उनले सामा अलीलाई आउट गरी ह्याट्रिक विकेट पूरा गरिन् ।


अन्जलीले आफ्नो पहिलो ओभरमा पनि ३ विकेट लिइन् । कुनै रन नदिइएकी अन्जलीले आउट गरेको ६ ब्याट्सवुमनले कसैले खाता खोल्न भ्याइनन् । माल्दिभ्सका कुल ८ खेलाडी शून्यमा आउट भए । ओपनर हमजा नियाजले ९ र हासाफा अब्दुल्लाह ४ रन बनाए ।


टस जितेको माल्दिभ्स १०.१ ओभरमा १६ रनमा अलआउट भयो । महिला ट्वान्टी–२० अन्तर्राष्ट्रियको न्युन स्कोर मालीको नाममा छ । रुवान्डासँग जुनमा भएको खेलमा माली ६ रनमै अलआउट भएको थियो । रुवान्डाले त्यो खेल ४ रनले जितेको थियो ।


नेपालले खेल ५ बलमै जित्यो । पहिलो बलमै काजोल श्रेष्ठले नो बलमा चौका प्रहार गरिन् । उनी १३ रन बनाई अविजित रहिन् । उपकप्तान सीता रानामगर १ बल खेलेर शून्यमा अविजित रहिन् । त्यसअघि अञ्जलीले ६, करुणा भण्डारीले २ ओभरमा २ विकेट लिएका हुन् । करुणाले १ मेडन राख्दै ४ रन खर्चिइन् ।


नेपालकी कप्तान रुबिना क्षेत्रीले राम्रो सुरुआत गर्न सकेको र आफूहरूले लामो समयदेखि मिहिनेत गरेको बताउँदै उनले नेपाली महिला क्रिकेटले केही गरी देखाउने अवसरमा यो प्रतियोगिता रहेको बताइन् । माल्दिभ्सकी कप्तान जुना मारियाले नेपाल बलियो टिम भएको र यो प्रतियोगिता आफूहरूका लागि अनुभव बटुल्ने अवसर हुने बताइन् । नेपालले बुधबार बंगलादेशसँग खेल्नेछ । मंगलबार श्रीलंका र बंगलादेशबीच खेल हुनेछ ।

प्रकाशित : मंसिर १७, २०७६ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?