कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१३औं दक्षिण एसियाली खेलकुद  :  दुई/दुई स्वर्णको कथा

विनोद पाण्डे, कुशल तिमल्सिना

काठमाडौँ — १३औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक खेल सुरु भएको पहिलो दिनमै करातेका मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्यले एकै दिन २–२ स्वर्णको कीर्तिमान बनाएका छन् । उनीहरूको कीर्तिमानसँगै सोमबार नेपालले १५ स्वर्ण आफ्नो पोल्टामा पारेको छ । 

करातेका मन्डेकाजीले व्यक्तिगत काता र टिम काता तथा आयशाले तेक्वान्दोमा २९ वर्षमाथि एकल पुम्से र २९ वर्षमाथि युगल पुम्सेमा स्वर्ण पदक जितेका हुन् । काता र पुम्से दुवै मार्सल आर्ट कला प्रदर्शनी खेल हुन् ।


धावक राजेन्द्र भण्डारीले सन् २००६ को १०औं सागमा ५ हजार मिटर र स्टेपल चेजमा स्वर्ण जितेका थिए । तर डोपिङ परीक्षणमा असफल भएपछि उनका दुवै स्वर्ण खोसिएका थिए । त्यसअघि र पछि पनि कुनै नेपाली खेलाडीले एकै सागमा दुई स्वर्ण जित्न सकेका थिएनन् ।


सातदोबाटोस्थित ५० मिटरको फरकमा रहेको तेक्वान्दो र कराते हलमा मन्डेकाजी र आयशाले इतिहास रचेका हुन् । मन्डेकाजीसँग टिम कातामा महसुस तामाङ र प्रवीण मानन्धर तथा आयशासँग २९ वर्षमाथि युगल पुम्सेमा सञ्जीवकुमार ओझा थिए । मन्डेकाजीले २०१० मा अन्तिम समयमा आएर खेल्न पाएका थिएनन् । शारीरिक बनोट नमिलेपछि आयशा संन्यासको संघारमा थिइन् । सागमा मन्डेकाजीको यो पहिलो सफलता हो । पुम्सेका दुई स्वर्णले आयशालाई सागमा सबैभन्दा सफल नेपाली महिला खेलाडी बनाएको छ ।


सागमा आयशाका ३ स्वर्ण पुगेका छन् । २००६ को श्रीलंका साग र २०१६ को भारत सागमा उनले फाइनलमा पराजित भएपछि रजतमै चित्त बुझाउनुपरेको थियो । २०१० को ढाका सागमा नेपाली तेक्वान्दोले २ स्वर्ण जितेको थियो ।

एउटा स्वर्ण आयशाको थियो, अर्को स्वर्ण दीपक विष्टले जितेका थिए । त्यसको अर्को वर्ष यी दुई दाम्पत्य जीवनमा बाँधिएका थिए । दीपक पुरुषतर्फ नेपालका कीर्तिमानधारी खेलाडी हुन् । उनले १९९९ देखि २०१० सम्म गरी सागमा लगातार ४ स्वर्ण जितेका थिए । अहिले यी दुईका ६ र २ वर्षका दुई छोरा छन् ।


‘सबैले मलाई विश्वास गर्नुभयो, त्यसैले मैले जितें । यो जितको श्रेय ज–जसले मलाई विश्वास गर्नुभयो, उहाँहरूलाई नै जान्छ । २ स्वर्ण मेरा २ छोरालाई समर्पित गर्न चाहन्छु,’ आयशाले भनिन्, ‘म पहिलेदेखि नै उदाहरणीय बन्न चाहन्थें । त्यो अहिले पूरा भए जस्तो लाग्छ ।’ इच्छाशक्ति, लगनशीलता र मिहिनेती भए सफलतालाई उमेर र शारीरिक अवस्थाले नछेक्ने उनको भनाइ छ ।


११औं सागमा मन्डेकाजी नेपालबाट छानिएका थिए । ३–४ महिना नेपालमा क्याम्प बसेर वैदेशिक प्रशिक्षणका लागि एक महिना थाइल्यान्डमा रहँदा उनको तौल समूह काटिएपछि साग खेल्न पाएनन् । ‘त्यो क्षण म सम्झन पनि चाहन्नँ । रुँदैरुँदै फर्केको थिएँ । अर्को साफ खेल्नुपर्छ र नेपाललाई पदक दिलाउनुपर्छ भनेर लागिपरें । कारणवश १२औं साफमा कराते थिएन । त्यो अर्को दुःखद क्षण थियो,’ मन्डेकाजीले भने, ‘म इख लिएर खेलिरहें । तिमीले दायाँबायाँ कतै नहेरी खेलतर्फ मात्र ध्यान देऊ भनेर बुबाले प्रोत्साहन दिनुहुन्थ्यो । त्यसले पनि मलाई जित हासिल गर्न सघायो ।’


मन्डेकाजीले २० वर्षपछि नेपाली पुरुष टोलीलाई कातामा सफलता दिलाएका हुन् । सन् १९९९ मा काठमाडौंमा भएको आठौं सागमा गंगाराम महर्जनले एकल कातामा र प्रविन राना, गोपीलाल बम्जन, कृष्ण राई र विजय लामाले टिम कातामा स्वर्ण जितेका थिए । उनै गंगाराम अहिले नेपाली काता टोलीका प्रशिक्षक छन्, जसले नेपाललाई सोमबार कातामा ४ मध्येका ३ स्वर्ण दिलाए । त्यसमा दुई मन्डेकाजीको नाममा परे ।


भारत यस पटक करातेमा सहभागी छैन । भारतीय कराते निलम्बनमा रहेकाले १३औं सागमा उसले सहभागिता जनाउन पाएन । त्यसको फाइदा नेपाललाई भएको मान्न मन्डेकाजी तयार छैनन् । ‘तीन साताअघि बंगलादेशमा भएको दक्षिण एसियाली कराँते च्याम्पिनसिपले हौसला दियो,’ उनले भने, ‘त्यसमा पनि नेपालले टिम कातामा स्वर्ण जितेको थियो । नेपालले त्यसमा भारतलाई नै फाइनलमा पराजित गरेको थियो ।’


प्रकाशित : मंसिर १७, २०७६ ०७:१८

प्रतिक्रिया
पठाउनुहोस्

सामग्री खरिद ‘पाइपलाइन’ मै

सागमा सहभागी २७ खेल संघका लागि आवश्यक सामग्रीको आपूर्ति प्रक्रिया टेन्डरबाट अगाडि बढ्न सकेको छैन
विनोद पाण्डे, कुशल तिमल्सिना

काठमाडौँ — ‘हामीले मगाएको आवश्यक खेल सामग्री साग खेलकुद सुरु हुनु अगाडि नै खेलस्थलमा आइपुगोस् ।’ नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह मंगलबार खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरूसामु यसो भन्दै थिए । 

पूर्वाधार निर्माणका कामहरू देख्दा आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई गिज्याइरहेको भान हुन्छ । प्रमुख खेलस्थलहरूमा निर्माण कार्य धमाधम चलिरहेको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको शनिबार काठमाडौंमा सम्पन्न बैठकले १३ औं साग निर्धारित मितिमै हुने घोषणा गरेपछि आयोजनाको पक्षमा रहेको अन्योल तोडेको छ । दक्षिण एसियाली खेलकुद मेला सुरु हुन तीन सातामात्र बाँकी रहेको छ । मंसिर १५ गते प्रतियोगिताको औपचारिक उद्घाटन हुनेछ । त्यसअघि नै केही खेलका खेल सुरु भइसक्नेछ ।

यो अवस्थामा पूर्वाधार र प्रशासनिक तयारी मात्र नभई खेल सामग्री ‘पाइपलाइन’ मै आइपुग्न बाँकी छ । त्यसले गर्दा एथलेटिक्सका अध्यक्ष शाहलाई जस्तै सागमा सहभागी २७ खेलका राष्ट्रिय संघलाई आफ्नो खेल सामग्री बेलैमा नआइपुग्ने हो किन भन्ने चिन्ता छ । यी सबै कामका कारण सफल साग आयोजनाप्रति नै प्रश्न गर्न मार्गप्रशस्त छ । खेल सामग्री खरिदका टेन्डर प्रक्रिया नै अझै पूरा नहुनाले शंका गर्ने वातावरण बनाइदिएको हो ।

सबै खेलका अत्यावश्यक सामग्री अहिलेसम्म तयारी अवस्थामा छैनन् । सक्रिय खेल संघहरूसँग त जसोतसो अन्तर्राष्ट्रिय प्रतियोगिता गराउन सक्ने सामग्री छ । निस्क्रिय र नयाँ खेलका लागि सम्पूर्ण सामग्री आवश्यक छ । सागमा सहभागी २७ खेल संघका लागि आवश्यक खेल सामग्री आपूर्ति प्रक्रिया सुरु भए पनि टेन्डरबाट अझै अगाडि बढ्न सकेको छैन । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले निर्धारित मितिमै आयोजना गर्ने निर्णय गरिसकेको अवस्थामा प्रतियोगिता हुनेमा शंका रहेन । तर कस्तो हुन्छ त ? अहिले सबैको जिज्ञासा यही छ ।

खेल सामग्री आपूर्तिका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले कात्तिक पहिलो साता टेन्डर आह्वान गरेको थियो । टेन्डरबाट छनोट भएका कम्पनीले आफूखुसी सामान ढुवानी गर्न नपाउने भएकाले प्रक्रिया लम्बिएको सागका लागि खेल सामग्री व्यवस्थापन समितिका संयोजक पुरेन्द्रविक्रम लाखे बताउँछन् ।

‘टेन्डर प्रक्रियाबाट छनोट भएका कम्पनीले सम्बन्धित खेल संघको अन्तर्राष्ट्रिय फेडेरेसनबाट मान्यता दिइएको सामग्रीमात्र ल्याउनुपर्ने हुन्छ,’ उनले भने, ‘हामीले सबै कम्पनीलाई शर्ट लिस्टमा राखिसकेका छौं र छिट्टै सम्झौता गरी सामान ढुवानी हुनेछ । दुवानीकर्ताले सम्बन्धित संघसँग समन्वय गर्नेछन् ।’

समय अभावकै कारण सागमा समावेश खेलका सामग्री आयातलाई सहज प्रक्रिया अपनाइएको छ । छिमेकी देशबाट ल्याउँदा सहज ढुवानी पर्ने भएकाले राखेपले अधिकांश सामग्री आयातमा त्यही रणनीति अपनाएको छ । चीन, भारत र पाकिस्तानजस्ता देशबाट सामग्री ल्याइने तयारी भइरहेको छ । यसो गरिँदा गुणस्तरमा भने प्रश्न उठ्ने ठाउँ देखिएको छ ।

राखेपले खेल सामग्री व्यवस्थापनका लागि अनुदान सहयोगको रूपमा परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारसँग प्रस्ताव गरेको थियो । अहिले राखेप आफैंले टेन्डर प्रक्रिया थालेको हो । ‘जम्माजम्मी ४३ करोड रुपैयाँबराबरको खेल सामग्रीका लागि टेण्डर गरिएको हो । सोमबारसम्ममा १० खेलको सामग्री ढुवानीकर्ताको टुंगो लागेको छ,’ परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले भने, ‘करिब एक सातामा हामीले सबै खेलका सामग्री सबै खेलस्थलमा पुर्‍याइसक्ने तयारी गरेका छौं, एयर कार्गोमार्फत सामान आयात हुनेछ ।’

सदस्यसचिवले त्यसो भने पनि खेल सामग्री व्यवस्थापन समितिले भने सोमबार तेक्वान्दो, टेबलटेनिस र ब्याडमिन्टनका खेल सामग्री ढुवानीकर्तासँग सम्झौता भएको जनाएको छ ।

खेल सामग्री व्यवस्थापन समयमै नहुँदा खेल संघहरू सबैभन्दा बढी मारमा छन् । राखेपको झन्झटिलो टेन्डर प्रक्रिया र नजिकिँदो प्रतियोगिताले पुरानो सामानमै काम चलाउनुपर्ने बाध्यात्मक परिस्थिति नआओस् भन्नेमै उनीहरूले चिन्ता हो । ‘हामीले यसअघि धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता गरिसकेकाले खेल आयोजना गर्न समस्या होइन तर खेल सामग्री नभएका संघलाई त झन् तनाव छ,’ सोमबार खेल सामग्री व्यवस्थापन समिति सचिवालयमा भेटिएका जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले भने, ‘राज्यकै प्रतिष्ठाको रूपमा रहेको प्रतियोगितामा नयाँ र स्तरीय सामग्री प्रयोग गर्न चाहेका हौं ।’

सहभागी राष्ट्रिय संघले आफूलाई आवश्यक खेल सामग्री र त्यसको लगत राखेपलाई बुझाइसकेका छन् । सुटिङ संघले सबैभन्दा धेरै १२ करोड रुपैयाँबराबरको सामग्री माग गरेको छ । सुटिङको सामग्री महँगो पर्ने र सुरक्षाका कारण पनि संवेदनशील रहेकाले छिटो आपूर्ति गरिदिन संघको माग छ । सुटिङपछि आवश्यक खेल सामग्री बजेटका हिसाबमा धेरै माग्नेमा आर्चरी, फेन्सिङ र एथलेटिक्स छन् । आर्चरी र एथलेटिक्सले २४–२४ तथा फेन्सिङले २८ थरिका सामग्री माग गरेका छन् । क्रिकेटले २५ थरिका खेल सामग्रीको माग गरेको छ । कतिपय खेल संघले भविष्यमा अन्य प्रतियोगिता आयोजनालाई सहज बनाउनसमेत सामग्रीको माग गरेको राखेप स्रोतको दाबी छ ।

प्रकाशित : कार्तिक २७, २०७६ ०७:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×