२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

१५ स्वर्ण पदकसहित नेपाल शीर्ष स्थानमा

रासस

काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाल १५ स्वर्ण पदकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपालले हालसम्म तीन रजत तथा ६ कास्य पदकसहित २४ पदक जितेको छ ।

१५ स्वर्ण पदकसहित नेपाल शीर्ष स्थानमा

यस्तै भारत तीन स्वर्ण, आठ रजत र तीन कास्यसहित दोस्रो स्थानमा छ । श्रीलंका तीन स्वर्ण, छ रजत र १० कास्यसहित तेस्रो, पाकिस्तान दुई स्वर्ण, तीन रजत र पााच कस्यसहित चौथो, बंगलादेश एक स्वर्ण र १२ कास्यसहित पााचाौ तथा भुटान एक कास्यसहित पदक तालिकाको छैटौं स्थानमा छ । माल्दिभ्सले भने अहिलेसम्म कुनै पदक प्राप्त गर्न सकेको छैन ।


नेपालले आज सम्पन्न खेलमा कराते र तेक्वान्दोमा आफ्नो वर्चस्व जमाएको हो । कराते र तेक्वान्दोमा मात्रै नेपालले १४ स्वर्ण जितेको छ । नेपालले पहिलो दिन कराते र तेक्वान्दोमा सात/सात स्वर्ण जितेको हो । ललितपुरको सातदोबाटोस्थित कराते हलमा आज भएका नौ स्पर्धामा नेपालले सात स्वर्ण र दुई रजत पदक जितेको हो । नेपालका लागि सिनियर पुरुष एकल कातामा मण्डेकाजी श्रेष्ठले स्वर्ण जिते । नेपालले महिला र पुरुष टिम कातामा समेत स्वर्ण पदक हात पार्‍यो । पुरुष कुमुतेतर्फ लक्ष्मण तामाङले ५५ किलो तथा विप्लवलाल श्रेष्ठले ८४ किलो तौलमा स्वर्ण जिते । यस्तै महिलातर्फ कुसुम खड्काले ४५ किलोमुनि तथा अनु अधिकारीले ५० किलोमुनि तौलमा स्वर्ण जिते । पुरुष कुमुतेमा दिवश श्रेष्ठ तथा महिला कातामा चन्चला दनुवारले रजत जिते ।

यसैगरी नेपालले तेक्वान्दोको पुम्से विधातर्फ सात स्वर्ण पदक जितेको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा आज १३ स्वर्णको छिनोफानो भएको थियो । श्रीलंकाले तीन, भारतले दुई तथा बंगलादेशले एक स्वर्ण जित्यो । नेपालका लागि आयशा शाक्यले दुई स्वर्ण दिलाइन् । उनले व्यक्तिगत तथा समूहगत स्पर्धामा स्वर्ण जितेकी हुन् । यस्तै नेपालका लागि पुम्सेतर्फ पार्वती गुरुङ, सीना लिम्बू मादेन र कमल श्रेष्ठले स्वर्ण जिते । नेपालले महिला समूह पुम्सेतर्फ १७–२९ उमेर समूह (निसा दर्नाल, स्वस्तीका तामाङ र सञ्जिला तिमल्सिना) तथा २३ वर्षमाथिको उमेर समूह (निता गुरुङ, प्रशांसा क्षेत्री र सुशीला राई)मा स्वर्ण जितेको हो । यस्तै कृष्णबहादुर तामाङले रजत तथा अश्मित रावत, सीना मादेन लिम्बू, जितबहादुर बोट, पार्वती गुरुङ, कमल श्रेष्ठ र प्रेमबहादुर लिम्बूले कास्य पदक जिते । यसअघि आजै कास्कीको पोखरामा सम्पन्न ट्रायथलनअन्तर्गत महिला स्प्रिन्ट विधामा नेपालका लागि सोनी गुरुङले स्वर्ण पदक जितेकी थिइन् ।


सागको पदक तालिका


देश स्वर्ण रजत कास्य जम्मा


नेपाल १५ ३ ६ २४

भारत ३ ८ ३ १४

श्रीलङ्का ३ ६ १० १९

पाकिस्तान २ ३ ५ १०

बङ्गलादेश १ ० १२ १३

भुटान ० ० १ १

माल्दिभ्स ० ० ० ०

प्रकाशित : मंसिर १६, २०७६ २१:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?