२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

कराँतेको त्यो जग

विनोद पाण्डे

मार्सल आर्ट्स पञ्चायतकालमा निलम्बन थियो । अन्धकारमा रहेको कराँतेले उज्यालो भविष्य खोजिरहेको थियो । आफ्नो जीउ बचाउने, स्वस्थ रहने र आफू आफैंमा खेल्दै कराँते घस्रिने प्रयास गरिरहेको थियो । निलम्बन फुकुवा कहिले हुने हो कहिले ।

कराँतेको त्यो जग

२०२८ सालमै पुलिसभित्र फुल कन्ट्याक्ट थियो । मानबहादुर तामाङले पुलिसलाई प्रशिक्षण गर्थे । २०३९ मा मार्सल आर्ट भनेर खुला भयो । त्यसको पनि आफ्नै कारण थियो । तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहले मार्सल आर्टमाथिको प्रतिबन्ध खोलिदिएका थिए । धीरेन्द्र आफैं कराँते खेल्थे ।

कराँतेका संस्थापक प्रमुख थानेश्वर राईले राउन्ड किक हानेर धारिलो तरबारको टुप्पोमाथि राखेको स्याउ दुई टुक्रा बनाए । सो प्रदर्शन हेरिरहेका धीरेन्द्र प्रभावित भए । मार्सल आर्टमाथिको निलम्बन पनि खोलिदिए । २०४३ सालमा मार्सल आर्टबाट कराँते र तेक्वान्दो छुट्टिए । आ–आफ्नै अस्तित्वमा आए ।

पञ्चायत फालेर प्रजातन्त्र आयो । कराँतेको उज्यालो भविष्य देखिएन । कारण दक्षिण एसियाली खेलकुद (साफ) सुरु भए पनि त्यसमा यो समेटिएको थिएन । साफमा नसमेटिएको धेरै खेल अनधिकृत जस्तै थियो । कराँते त अझ बढी हुने भयो । एउटा यस्तो समय आयो जसले कराँतेको काँचुली नै फेरिदियो । त्यो समय सन् १९९९ मा नेपालमा भएको आठौं साफले ल्याएको थियो । यसले कराँतेलाई पहिलोपटक आधिकारिक खेल जस्तै बनायो । जवाफमा कराँतेले १६ मध्येको १४ स्वर्ण जितेको थियो । कराँतेले दक्षिण एसियामा निकै ठूलो संकेत प्रवाह गर्‍यो ।


‘पूर्व मेचीदेखि महाकालीसम्म र लाखौं खेलाडीको जमात मात्र होइन, त्यसमा स्तरीयता पनि थियो भन्ने कराँतेले पहिलादेखि नै प्रमाणित गरेको हो । तर मैले के देखेंभन्दा जतिसुकै अन्तर्राष्ट्रिय प्रतियोगितामा आधिकारिकता देखाए पनि, देशको प्रतिष्ठा राखे पनि आधिकारिक खेलमा समावेश गर्न सकिएन भने त्यसले कुनै पनि स्थान नपाउने रहेछ । त्यसैलाई मनन गरेर आठौं साफमा यसलाई समावेश गर्दा हामीले नेपालमा यो खेलले आधिकारिकता पाएको महसुस गरेका थियौं,’ दाबा गुरुङ आठौं साफमा कराँते समावेश भएपछिको क्षण अहिले पनि बिर्सन सक्दैनन् ।


आठौं साफ भइरहँदा उनी नेपाल कराँते महासंघका अध्यक्ष थिए, आठौं साफमा नेपालको सेफ दि मिसन पनि । खेलाडीले पनि कराँते खेलको प्रभाव आफ्नो प्रदर्शनबाट दर्शाइदिए । रवि महर्जन, दीपक श्रेष्ठ, ध्वजमान मोक्तान, सुरेन्द्रलाल श्रेष्ठ, राजेश श्रेष्ठ, कृष्ण गुरुङ, नीता राई, मीना पाठक, जुनु राई, विनीता चौधरीले कुमितेमा स्वर्ण जिते । प्रीति डंगोल र गंगाराम महर्जनले व्यक्तिगत काता तथा सोना थापा, तेजु गुरुङ, बिना सुवाल, अञ्जु हाछेथुले महिला तथा प्रवीण राना, गोपीलाल बमजन, कृष्ण राई, विजय लामाले पुरुष टिम कातामा स्वर्ण जिते । स्वर्ण जित्न चुकेका दुई खेलाडी दुर्गाराज निरौला र मकेन्द्रबहादुर सिंह थिए । दुर्गाराजको भागमा रजत र मकेन्द्रको भागमा कांस्य पदक पर्‍यो ।

खेलकुदमन्त्री शरतसिंह भण्डारी थिए, जो पछि नेपाल कराँते महासंघको अध्यक्ष भए । यसले पनि कराँतेलाई धेरै सहज बनाएको थियो ।


‘मलाई कराँते खेलप्रति पूरै विश्वास थियो । हाम्रो टिम तयारी दुई वर्षअगाडि कराँते साफमा समावेश गर्ने भनेदेखि भएको हो । २०५५ मा नेपालगन्जको राष्ट्रिय खेलकुद सकिएसँगै एउटा उमेर समूहमा चारजना खेलाडीसम्म बन्द प्रशिक्षण राखेका थियौं । त्यसैबाट तीन चरणको छनोट गर्‍यौं । कुनै नयाँ प्रतिभा छ कि भनेर तीन चरण थप छनोट खेल गर्‍यौं । चौथो तथा अन्तिम चरणबाट छनोट भएका खेलाडीलाई प्रशिक्षणका निम्ति विदेश पठायौं,’ पूर्वअध्यक्ष गुरुङ स्वर्णको मिहिनेत सम्झिँदै थिए, ‘विदेशको प्रशिक्षणबाट एक साता जस्तो अगाडि मात्र कराँतेको टिम नेपाल आएको हो । त्यही भएर आठौं साफमा कराँतेको सफलतामा मलाई कुनै नौलो लागेन । दक्षिण एसियाका अरू प्रतिद्वन्द्वी पनि राम्रै थिए । तर हाम्रो तयारी राम्रो थियो ।’


कराँतेको कुमितेतर्फ प्रशिक्षक थिए अक्बर शाह । साफमा समावेश नहुँदा आधिकारिक खेल नभएको जस्तो देखिने हुनाले साफ अगाडि विदेशमा प्रशिक्षण गर्न पाउन कठिन भएको सम्झना शाहलाई छ । साफमा समावेश भएपछि कराँतेको दायरा निकै फराकिलो भएको उनी पनि सहर्ष स्विकार्छन् ।

‘साफमा समावेश भएकाले नै मलेसियामा गएर आरामसँग प्रशिक्षण गर्न पाएका थियौं । तर म बाहिर गएर भन्दा विदेशी प्रशिक्षकलाई बोलाउँदा राम्रो हुने ठान्छु,’ उनी आठौं साफलाई सम्झिँदै थिए, ‘त्यो बेलाको माहोल राम्रो थियो । सबैभन्दा ठूलो कराँतेमा सबै मिलेको हुनुपर्छ । प्रशिक्षण, अनुशासन, मिहिनेत सबै मिलेर खेलाडीको प्रदर्शन विकास हुने हो । त्यतिखेर यो सबै थियो । बिहान तीन र बेलुका साढे दुई घण्टा प्रशिक्षण हुन्थ्यो । सबै राम्रा खेलाडी थिए । अहिले ती धेरै प्रशिक्षक भइसके ।’


आठौंमा स्वर्ण जितेका गंगाराम अहिले १३ औं सागमा कराँतेको कातातर्फका प्रशिक्षक हुन् । त्यस्तै दीपक श्रेष्ठ कुमितेमा सहायक प्रशिक्षक छन् । रवि टिम व्यवस्थापक । सञ्चारमाध्यमबाट टाढा बस्ने शाहको बानी थियो । ‘हामी सबै स्वर्ण जित्छौं त भन्छौं तर जित्न सकिएन भने के गर्ने । त्यसैले म अन्तर्वार्ता नै दिँदैनथे कसैलाई । किनभने कति स्वर्ण जित्ने लक्ष्य छ भनेर सोधिहाल्थे । खेलेर नतिजा ल्याउने हो, सञ्चारमाध्यममा बोलेर नतिजा आउने होइन । दसवटा स्वर्ण भनौंला आएन भने के गर्ने,’ आठौं साफको प्रसङ्गमा उनले भने, ‘पदक आउँछ भन्ने त निश्चित नै थियो । १४ स्वर्ण नै भन्ने सोचेका थिएनौं ।’


‘त्यतिखेर अरू टिम त्यस्तो राम्रो थिएनन् । भारत हाम्रैमा आएर सिक्थ्यो । अहिले भारत धेरै राम्रो भएको छ । पाकिस्तानले पनि धेरै प्रगति गरिसक्यो । त्यसबेला हाम्रो जोस नै अर्कै थियो । पहिलोपटक साफमा परेकाले खेलाडीहरू जोसिला थिए । हौसला राम्रो थियो । हामीले सबैलाई राम्रैसँग हराएका थियौं,’ शाह कराँते टोलीलाई तत्कालीन युवराज दीपेन्द्रले सोल्टी होटलमा बोलाएर बधाई दिँदै फोटो खिचेको स्मरणीय क्षण सम्झन्छन् ।


साफअघि पनि उनी रंगशालामा खेलाडीलाई अभ्यास गराइरहेका हुन्थे । मुख्य प्रशिक्षक थिएनन्, वरिष्ठ प्रशिक्षक थिए, त्यही आधारमा उनलाई साफमा नेपालको कराँते टोली हेर्न भनिएको थियो । जिम्मेवारी दिने समयमा सायद उनमा स्तरीयता देखियो होला । टीएस राई मुख्य प्रशिक्षक थिए, उनले पनि प्रशिक्षण गराएका थिए ।


कातातर्फ मुख्य प्रशिक्षक हीरासिंह डंगोललाई आठौं साफको सफलतालाई अविस्मरणीय क्षण मान्छन् । काता समावेश ४ स्पर्धामै नेपालले स्वर्ण जितेको थियो । उनकी बहिनी प्रीतिले जितेको स्वर्ण नेपालको आठौं साफमा पहिलो थियो । ‘प्रीतिले यसअघि एसियन च्याम्पियनसिपमा कुमितेमा स्वर्णपदक जितिसकेकी थिइन्, त्यही भएर खासै नौलो लागेन,’ डंगोल सम्झिँदै थिए, ‘तर आधिकारिक खेलका रूपमा उनले कराँतेबाट नेपाललाई पहिलो स्वर्णपदक दिलाएको भन्दा म धेरै खुसी थिएँ ।’


प्रीति आफ्नै बहिनी भए पनि काताका बाँकी खेलाडीलाई पनि भाइबहिनी, छोराछोरी जस्तै माया गरेर अभ्यास गराएको उल्लेख गर्दै कुनै खेलाडीलाई कहिल्यै लौरोले नहानेको बताउँछन् । त्यसको एउटा कारण काताको पूरै टिम उनका विधार्थी थिए । साफका लागि बन्द प्रशिक्षणमा आउनुअघि नै उनले कातामा समावेश नेपाली खेलाडीलाई दशरथ रंगशालामा केन्द्रीय डोजोमा सिकाउँथे । सबै खेलाडी लगभग खेल्न सुरु भएदेखि नै डंगोलको प्रशिक्षणमा समावेश भएका थिए । स्वर्णधारी गंगाराम अहिले १३ औं सागको कातातर्फ प्रशिक्षक छन् ।


साफमा कराँते पहिलोपटक राखिएकाले होला अन्य देशको तयारी त्यो हिसाबमा आफूले त्यतिखेर नदेखेको उनी बताउँछन् । ‘अरू देशको प्रदर्शन कस्तो थियो भन्ने मलाई थाहा थियो, त्यसैले कातामा ४ स्वर्ण जित्ने पूरा विश्वास थियो । भारत, पाकिस्तान, बंगलादेशका प्रशिक्षकहरू नै यहीं प्रशिक्षण कोर्स गर्न आउँथे,’ कराँते ठूलो खेलका रूपमा प्रस्तुत भइरहेको तर्क सार्दै उनले भने, ‘अहिले एसियाली खेलकुदमा पनि निरन्तर छ, ओलम्पिकमा पनि राखिँदै छ । त्यसैले सबै देशको तयारी राम्रो छ ।’ साफमा समावेश हुनुअघि पनि दक्षिण एसियाको कराँतेमा नेपाल नम्बर एक रहेको र आठौं साफले त्यसलाई आधिकारिकता दिएको उनी मान्छन् ।


विवादका पाटाहरू
सफलतासँगै कराँतेभित्र विवादहरू देखिन थाल्यो, राजनीतीकरण हुन पुग्यो । एक समय दाबा गुरुङ र पुरेन्द्रविक्रम लाखे छुट्टाछुट्टै कराँते संघका अध्यक्ष थिए । एउटालाई अन्तर्राष्ट्रिय मान्यता र अर्कोलाई राष्ट्रिय मान्यता । यो लामो समय रह्यो । दुई चिरामा रहेका गुरुङ र लाखे अहिले तदर्थ समितिको कराँतेमा छन् ।


आठौं साफसम्म कराँते क्लिन जस्तो थियो, अहिले खेलाडीले पनि राजनीति गर्ने गरेको आरोप दीपक श्रेष्ठको छ । खेलाडी र प्रशिक्षक एकले अर्कालाई विभिन्न आरोप लगाउने गरेका छन् । खेलाडी छनोटमा धाँधली गरेको, प्रशिक्षक मनमौजी राखेको आरोप नेपाली कराँतेमा नियमित जस्तै लाग्ने गरेको छ । व्यवस्थापक रवि महर्जनले १३ औं सागका लागि सहभागी नेपाली कराँते टोलीको सम्मान कार्यक्रममा ट्र्याकसुट, ज्याकेट, जर्सी र ब्याग प्रदान गरेका थिए । त्यही कार्यक्रममा प्रशिक्षकद्वय कुशल श्रेष्ठ र तारा गुरुङ तथा खेलाडीहरू विनोद शाक्य र दिगम्बर पन्तलाई बोलाइएकै थिइएन । सागअगाडि नै नेपाली कराँतेको विवाद चुलिएको थियो ।


‘हरेक खेलमा राजनीतीकरण भइरहेको छ । म पनि कुनै राजनीतिक पार्टीसँग आस्था राख्छु । तर रंगशाला छिर्नु अगाडि म राजनीतिको पोको बाहिरै राख्छु । धर्म, राजनीति हरेक क्षेत्रमा अट्न सक्ने भनेकै खेलकुद हो,’ गुरुङ भन्छन्, ‘खेलमा राजनीति भएपछि, राजनीतीकरण भएपछि यसको हरेक हाँगामा असर परेको हुन्छ । त्यसपछि खेलाडीले आफ्नो प्रदर्शन दिन सक्दैनन् । हाइकमान्डबाट जब राजनीतिको हावा लाग्छ त्यसपछि त्यो स्वतः खेलाडीमा पनि छिर्छ ।’


प्रशिक्षकदेखि खेलाडीले अुनशासन गुमाउँदै गएको आरोप प्रशिक्षक डंगोलको छ । ‘आठौं साफमा हाम्रो तयारी भव्य थियो । सबैभन्दा ठूलो त्यतिखेर खेलाडीदेखि प्रशिक्षक सबै अनुशासित थिए । सफल हुनलाई मिहिनेती, लगनशील र अनुशासित हुनुपर्छ,’ डंगोल वर्तमान विसंगतितर्फ इंगित गर्दै भन्छन्, ‘अहिले पनि अनुशासित नै छन्, तर पहिला जस्तो छैनन् । प्रशिक्षक नै सोर्स–फोर्स लगाएर बनेका छन् । राष्ट्रिय खेलाडी नै उत्पादन नगरेकाले अहिले राष्ट्रिय टिमको प्रशिक्षण दिइरहेका छन् । स्वर्ण जित्ने र स्वर्ण दिलाउने फरक हो । हिजोका स्वर्णपदक विजेताहरू नै जसरी पनि प्रशिक्षक बन्न लागिपरेका छन् ।’

प्रकाशित : मंसिर १६, २०७६ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?