१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

इखले जिताएको २ स्वर्ण

राजु घिसिङ

काठमाडौँ — दक्षिण एसियाली खेलकुद (साग) को एउटै संस्करणमा दुई स्वर्णपदक जित्ने पहिलो नेपाली खेलाडी बनेका मन्डेकाजी श्रेष्ठले छोरी जन्मिएपछि आफू भाग्यमानी सावित भइरहेको बताएका छन् । ११ औं सागमा छनोट भएर पनि खेल्न नपाएको इखले नै २ स्वर्ण विजेतासम्म बन्न आइपुगेको उनले बताए ।

इखले जिताएको २ स्वर्ण

सातदोबाटोस्थित कराँते एकेडेमीमा ११ औं सागको पहिलो दिन सोमबार व्यक्तिगत र टिम कातामा स्वर्णपदक जितेपछि मन्डेकाजीले भने, ‘मेरो लागि छोरी (हिमानी) एकदमै भाग्यमानी बनेकी छन् । उनको जन्मपछि मेरो जीवनको सपनाहरू पूरा भइरहेको छ ।’ हेटौंडाकी उषा तामाङसँग गत वर्ष साउनमा विवाह गरेका उनको छोरी हिमानीको जन्म ६ महिनाअघि भएको थियो ।


गत चैतमा आठौं राष्ट्रिय खेलकुदमा काताको व्यक्तिगत स्पर्धामा स्वर्ण र टिम कातामा पुलिसबाट रजत हात पारेका उनी त्यसको सफलतासँगै राष्ट्रिय टिममा पुगेका थिए । गत महिना ढाकामा भएको पाँचौं दक्षिण एसियाली कराँते च्याम्पियनसीपमा व्यक्तिगत स्पर्धामा कांस्यमा सीमित भएपनि टिममा स्वर्णपदक जितेका उनले भने, ‘ढाकामा व्यक्तिगत स्पर्धामा सेमिफाइनलमा श्रीलंकाविरुद्ध पराजित भएपनि टिम स्पर्धामा हामीले भारतलाई हराएर स्वर्ण जितेका थियौं । त्यो प्रतियोगिताको अनुभवले हामीलाई ११ औं सागमा उत्साहित बनाएको थियो । ढाकाको कमजोरीलाई सच्याएर स्वदेशमा ऐतिहासिक स्वर्ण जित्नसक्यौं ।’


प्रवीन मानन्धर र महसुस तामाङसगै टिम कातामा सफलता हात पारेका नयाँ ठिमीका ३५ वर्षीय मन्डेकाजीको खेल हेर्न पत्नी उषा छोरीसहित हलमा आएकी थिइन् । ‘उहाँ (मन्डेकाजी) ले जित्नुहुन्छ भन्ने मनमा लागिरहेको थियो, जित्यो, एकदमै खुशी लाग्यो । अब खुशियाली मनाउनेछौं,’ स्वर्ण विजेता पतिलाई पत्रकारले घेरेपछि भेट्न एक घन्टा बढी प्रतिक्षा गरेकी उषाले भनिन्, ‘पहिलोपल्ट उहाँको खेल हेर्न आएकी हुन् । परिवारको उपस्थितिले उहाँलाई खेलमा दबाब नहोस् भन्ने लागेको थियो । उहाँले राम्रै गर्नुभयो, जुन खुशीको कुरा हो । तर, उहाँको खेल हेर्दा अब के हुन्छ भनेर आफैंलाई दबाब हुने रहेछ । हेर्न गाह्रो भयो ।’


एसिया प्यासिफिक कराँते च्याम्पियनसीप २०१२ मा एक रजत र कांस्यपदक पनि हात पारेका मन्डेकाजीले ११ औं सागको नेपाली टिममा छनोट भएर पनि प्रतिस्पर्धा गर्ने अवसर पाएका थिएनन् । बैंककमा भएको क्लोज क्याम्पबाट दक्षिण एसियाली खेलकुदको सबभन्दा प्रतिष्ठित् बृहत् खेलकुमा प्रतिस्पर्धा गर्न ढाकातर्फ उड्ने बेला उनीसहित ५ नेपाली खेलाडी स्वदेश फर्किनुपरेको थियो ।


विभागीय टिम पुलिसका यी खेलाडीले नौ वर्षअघि बैंककबाट फर्किँदाको अवस्था सम्झिए, ‘११ औं सागमा छनोट भएर पनि देशको प्रतिनिधि गर्न पाएको थिएन । एउटा खेलाडीको लागि जीवनमा त्योभन्दा दुःखको क्षण कहिल्यै हुन सक्दैन । बैंककबाट ढाका उड्ने बेला काठमाडौं फर्किनुपरेको त्यो क्षणलाई सम्झिन पनि चाहन्न ।


त्यसलाई इखको रुपमा लिएर स्वदेश फर्केपछि राम्रो तयारीमा जुटेको थिए । तर, १२ औं साग २०१६ मा कराँतेलाई समावेश गरिएन । गोल्ड मेडल ल्याएरै छाड्छु भन्ने इखले तयारीलाई कायमै राखे । त्यसैले आज स्वर्ण जित्नसके जस्तो लाग्छ ।’ यसबीचमा बुबा र परिवारले खेललाई निरन्तरता दिन उत्साहित गरिरहेको उनले बताए ।


यो सागको सफलताबारे उनले थपे, ‘प्रतिस्पर्धा गर्दा प्रतिद्वन्द्वीलाई कमजोर कहिल्यै सोच्नुहुँदैन, आफ्नै उत्कृष्ट प्रदर्शन गर्नेमा ध्यान दिनुपर्छ । त्यसै पनि यसपाली हाम्रो राम्रो नतिजा आएजस्तो लाग्छ ।’

प्रकाशित : मंसिर १६, २०७६ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?