कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माल्दिभ्सविरुद्धको महिला क्रिकेटमा नेपालको चार कीर्तिमान

दीपक परियार

पोखरा — माल्दिभ्स विरुद्धको महिला क्रिकेटमा नेपालले चारवटा नयाँ कीर्तिमान बनाएको छ । १३ औं सागको पहिलो खेलमा नेपाली बलर अञ्जली चन्दले दुई ओभरमा एक रन पनि नदिइ ६ विकेट लिएकी छन् । आयोजक नेपालले पहिलो खेलमा माल्दिभ्समाथि १० विकेटको ठूलो जित निकाल्दा पोखराको मैदानमा अन्तर्राष्ट्रिय डेब्युमै कीर्तिमान बनाउन अञ्जली सफल भएकी हुन् ।

यो टी–ट्वान्टीमा कीर्तिमान भएको नेपाली प्रशिक्षक जगतबहादुर टमटाले दाबी गरे । त्यस्तै माल्दिभ्सका ९ खेलाडी शुन्य रनमै आउट भएकोपनि अर्को कीर्तिमान भएको टमटा बताउँछन् । १६ रनमा अलआउट गर्नु अर्को कीर्तिमान हो भने मात्रै ५ बलमा जित हाँसिल गर्नुपनि अर्को कीर्तिमान भएको टमटाको दावी छ ।



टस जितेर ब्याटिङ रोजेको माल्दिभ्स १०.१ ओभरमा १६ रनमै समेटिएको थियो । ७ रनमा पहिलो विकेट गुमाएको माल्दिभ्सले ११ रनमा दोस्रो र तेस्रो, १५ रनमा चौंथो, पाँचौं, छैठौं र सातौं तथा १६ रनमा बाँकी विकेट गुमाएको थियो । माल्दिभ्सको पारीमा हम्जा नियाजले ९ तथा हाफ्सा अब्दुल्लाहले ४ रन जोडिन् । बाँकी सबै खेलाडी शुन्यमै आउट भए । नेपालले अतिरिक्त ३ रन दिएको थियो ।


जितका लागि १७ रनको लक्ष्य सहित मैदान उत्रिएको नेपालले पहिलो ओभरमै विजयी लक्ष्य पार गर्‍यो । मात्रै ५ बलको सामना गरेकी काजल श्रेष्ठले ३ चौका प्रहार गर्दै अविजित १३ रन जोडिन् । पाँच बल फालेकी माल्दिभ्सकी बलर समा अलिले ४ अतिरिक्त रन दिएपछि नन्स्ट्र्राइकमा रहेकी सीता मगरले एक बलपनि सामना गर्नु परेन ।


२.१ ओभरमा २ मेडन सहित बिना रन ६ विकेट लिएकी अञ्जली चन्द उमन अफ द म्याच भइन् । करुणा भण्डारीले २ ओभरमा २ विकेट लिइन् । उनले १ मेडन राख्दै ४ रन खर्चिएकी थिइन् ।


जित पछि नेपाली टिमका कप्तान रुबिना क्षेत्री बेलबासेले प्रतियोगितामा राम्रो सुरुआत गर्न सकेकोमा खुसी व्यक्त गरिन् । साथै यही प्रतियोगिताका लागि आफूहरुले लामो समयदेखि मिहिनेत गरेको बताउँदै नेपाली महिला क्रिकेट टिमले केही गरी देखाउने अवसरका रुपमा यो प्रतियोगितालाई लिएको उनले बताइन् ।


माल्दिभ्सका कप्तान जुना मारियाले नेपाल बलियो टिम भएको बताइन् । पहिलो अन्तर्राष्ट्रिय खेल भएका कारण उत्कृष्ट प्रदर्शन गर्न नसकेपनि अनुभव बटुल्ने अवसर पाएको उनले बताइन् । प्रतियोगिता अन्तर्गत मंगलबार श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । नेपालले बुधबार बंगलादेशसँग खेल्ने छ ।




प्रकाशित : मंसिर १६, २०७६ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्

कराँतेमा लक्ष्मण तामाङले दिलाए नेपाललाई चौथो स्वर्ण

कान्तिपुर संवाददाता

काठमाडौँ — कराँतेमा नेपालले चौथो स्वर्ण जितेको छ । सोमबार सातदोबाटेस्थित कराँते हलमा भएको फाइनल खेलमा नेपालका लक्ष्मण तामाङले चौथो स्वर्ण दिलाएका हुन् । 

तामाङले फाइनलमा बंगलादेशका महोम्मद मुस्तफालाई पराजित गर्दै स्वर्ण जितेका हुन् । उनले मुस्तफालाई १-० ले पराजित गरेका हुन् ।

प्रकाशित : मंसिर १६, २०७६ १४:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×