नयाँ स्वीमिङ पुलमा पानी हालियो [तस्बिरहरु]

पुलमा कार्यरत राष्ट्रिय खेलकुद परिषदका इन्जियनियर भन्छन् – लगभग तयार ।
राजु घिसिङ, तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि बहुप्रतिक्षित हिटिङ सिस्टमको नयाँ स्वीमिङ पुलमा आइतबार बिहान पानी हालिएको छ । हिटिङ सिस्टमको परीक्षण पनि सफल भएको इन्जिनियरले बताएका छन् । यससगै १३ औं सागको लागि स्वीमिङ पुल तयार भएको भन्ने अवस्थामा आइपुगेको छ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बनाइएको २५ गुणा २५ मिटरको स्वीमिङ पुलबारे नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले भने, ‘१० लाख लिटर पानी अटाउने स्वीमिङ पुलमा करिब २ लाख लिटर हालिसकेका छौं । आज साँझसम्म पुल पानीले भरिनेछ । यससँगै हामी पौडीको प्रतिस्पर्धा नयाँ पुलमा आयोजना गर्नसक्ने अवजस्थामा आइपुगेका छौं ।’ त्यससँगै रहेको आउटडोर पुलको पानीलाई हिटिङ सिस्टमको नयाँ इन्डोर पुलमा हालिएको हो । पानी हाल्ने काम बिहान आठ बजे सुरु गरिएको थियो ।

‘अमेरिकाबाट ल्याइएको तीनवटा हिटिङ सिस्टमको मेसिनको परीक्षण पनि सफल भयो,’ झण्डै २३ करोड रुपैयाँमा निर्मित १० लेनको पुलमा कार्यरत राष्ट्रिय खेलकुद परिषदका इन्जियनियर कर्मा शाहीले भने, ‘मेसिनले फिल्टर गर्दै पानी तताइरहेको छ । यसैलाई ट्रिटमेन्ट गरेर खेल्न योग्य बनाउने हो । अब पुल बन्यो ।’ चिसो मौसमको कारण १२ औं सागलाई हिटिङ सिस्टिमको पुल आवश्यक परेको हो । अन्तर्र्ष्ट्रािय पौडी महासंघ (फिना) को नियमानुसार हिटिङ सिस्टमको स्वीमिङ पुलको तापक्रम प्रतियोगिताको बेला २६ देखि २८ डिग्री सेल्सियस हुनुपर्छ ।

संघका अध्यक्ष बज्राचार्यका अनुसार स्वीमिङ पुल क्षेत्रमा टच प्याड र स्कोर बोर्ड राख्नमात्रै बाँकी छ । अन्तर्राष्ट्रिय पौडीमा २५ गुणा २५ मिटरको पुललाई ‘सर्ट कोर्स’ भनिन्छ । दक्षिण एसियाली खेलकुदको सबैभन्दा बृहत् प्रतियोगितामा पौडी पहिलोपल्ट सर्टकोर्समा हुने भएको हो । यसैगरी हिटिङ सिस्टमको पुलमा पनि पहिलोपल्ट नै प्रतिस्पर्धा गर्न लागिएको हो । यसपाली पौडीमा ३८ स्पर्धासमावेश गरिएको छ ।


नेपालले दक्षिण एसियाली खेकलुदको सबभन्दा ठूलो प्रतियोगिता तेस्रोपल्ट आयोजना गर्न लागेको हो । सन् १९८४ मा भएको पहिलो संस्करणमा पौडी त्रिपुरेश्वरमा खेलाइएको थियो । ६ लेनको यो स्वीमिङ पुल चार वर्षअघिको भूकम्पले क्षतिग्रस्त बनेको थियो । आठौं साफ गेम्सको लागि सातोबोदोको अन्तर्राष्ट्रिय पौडी परिसरमा निर्मित ५० गुणा २५ मिटरको आउटडोर तयार गरिएको थियो ।

प्रकाशित : मंसिर १५, २०७६ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्

मूल घरमै दक्षिण एसियाली खेलकुद

दक्षिण एसियाली खेलकुद फेरि एकपल्ट नेपालमा फर्कंदा सबैले सम्झने तथ्य के हो भने नेपालले नै यो प्रतियोगिता आयोजना गर्नुपर्छ भन्ने सोच प्रस्तुत गरेको थियो । 
हिमेश

काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुद (साग) आजदेखि सुरु हुँदै छ । यो नेपालले आयोजना गर्न लागेको साग तेस्रो अवसर हो । यसअघि नेपालले सन् १९८४ मा पहिलोपल्ट प्रतियोगिताको आयोजना गरेको थियो । त्यतिबेला यसको नाम थियो, दक्षिण एसियाली महासंघीय खेलकुद । छोटकरीमा साफ ।

यो नामले सन् १९९९ सम्म प्रतियोगिता भयो । यो संयोगले नेपालले दोस्रो पटक आयोजना गरेको प्रतियोगिता रह्यो । त्यसपछि भने यसको नाम दक्षिण एसियाली खेलकुद (साग) रहेको छ ।

बंगलादेशको ढाकापछि काठमाडौं तीनपल्ट दक्षिण एसियाली खेलकुद आयोजना गर्ने देश हुनेछ । यसपल्ट भने प्रतियोगिता आतिथ्य काठमाडौंले मात्र होइन, पोखरा र जनकपुरले पनि गर्नेछ । भारतले पनि तीनपल्ट प्रतियोगिताको आयोजना गरेको छ । तीनै अवसरमा आयोजक सहर फरक–फरक छन् । पाकिस्तान र श्रीलंकाले भने दुई–दुईपल्ट यो प्रतियोगिता आयोजना गरेका छन् । भुटान र माल्दिभ्सले अहिलेसम्म आयोजना गर्न सकेका छैनन् ।

दक्षिण एसियाली खेलकुद फेरि एकपल्ट नेपालमा फर्कंदा सबैले सम्झने तथ्य के हो भने नेपालले नै यो प्रतियोगिता आयोजना गर्नुपर्छ भन्ने सोच प्रस्तुत गरेको थियो । अवधारणा तयार भइसक्दा पनि प्रतियोगिताले गति लिन नसकेपछि नेपालले नै अगाडि सरेर पहिलो संस्करणको प्रतियोगिता आयोजना गरेको थियो । त्यसैले प्रतियोगिताको सोच र कार्यान्वयनको जस नेपाललाई जाने गर्छ । निकै लामो समयको छलफलपछि मात्र प्रतियोगिता पहिलोपल्ट काठमाडौं आयोजना भएको थियो ।

दक्षिण एसियाली देश आफ्नो छुट्टै खेल महोत्सवको लागि प्रेरित हुनु पछाडि केही ठोस कारण पनि थिए । एक त यसले दक्षिण एसियाली देशबीचको सम्बन्ध अझ सुदृढ हुने निश्चित थियो, खेलकुदको माध्यमबाट । दोस्रो कारण थियो, दक्षिण पूर्वी एसिया र पश्चिम एसियाका आ–आफ्नै क्षेत्रीय प्रतियोगिता हुन्थ्यो । यसको सञ्चालन पनि सफलतापूर्वक भइरहेको थियो । तेस्रो महत्त्वपूर्ण कारण भने ओलम्पिक र एसियाली खेलकुद जस्ता ठूला खेल महोत्सवमा दक्षिण एसियाली देशले प्रस्तुत गर्ने कमजोर चुनौती ।

ओलम्पिकमा अधिकांस समय दक्षिण एसियाको चुनौती केबल सहभागितामै सीमित हुने गर्थ्यो । एसियाली स्तरमा भने भारतले मात्र केही राम्रो गर्दै आएको थियो । यी सबै कारण देखाएर नेपालले प्रतियोगिता आयोजनाको कारण तयार पारेको थियो । बंगलादेशले लगातार दुईपल्ट प्रतियोगिता आयोजना गर्न असमर्थता देखाएपछि नेपालले अगाडि सरेको थियो । पहिलो साफ काठमाडौंमा सन् १९८४ सेप्टेम्बर १७ देखि २३ सम्म आयोजना भएको थियो ।

पहिलो संस्करणमा जम्मा पाँच खेल मात्र समावेश थियो । ती थिए– एथलेटिक्स, पौडी, फुटबल, बक्सिङ र भारोत्तोलन । सहभागी संख्या पनि निकै कम थियो, ३ सय ७३ मात्र । प्रतियोगिताको सफल आयोजनाका लागि नेपालले कुनै प्रकारको कन्ज्युस्याइँ गरेको थिएन र नेपालको आतिथ्यमा सबै पाहुना खुसी भएका थिए । प्रतियोगिताको उद्घाटन र समापन समारोह दशरथ रंगशालामा आयोजना भएको थियो । तत्कालीन राजा वीरेन्द्रले भव्य समारोहबीच प्रतियोगिताको उद्घाटन गरेका थिए ।

कुल १ सय ८५ पदकका लागि भएको प्रतियोगितामा भारत ४४ स्वर्ण पदकसहित शीर्षस्थानमा रह्यो । त्यसयता श्रीलंका र पाकिस्तान रहे । आयोजक नेपालले चार स्वर्ण पदक जित्यो र चौथो स्थानमा रह्यो । नेपालले पहिलो साफको के आयोजना गरेको थियो, बंगलादेशलाई त्यसको दोस्रो संस्करण आयोजना गर्न हतार भइहाल्यो । एक वर्ष जतिको अन्तरमै बंगलादेशको ढाकाले सन् १९८५ को डिसेम्बर २० देखि २६ सम्म खेलकुदको माध्यमबाट दक्षिण एसियाकै सात देशलाई जोड्ने प्रयास गर्‍यो ।

ढाकाले पनि प्रतियोगिता आयोजनामा कुनै कसर बाँकी राखेन । एउटा स्वतन्त्र देशको रूपमा अस्तित्वमा आएयता बंगलादेशमा भएको त्यो पहिलो ठूलो खेल महोत्सव थियो । प्रतियोगिताको मुख्य आयोजनास्थल ढाकाको प्रसिद्ध बंगबन्धु नेसनल स्टेडियम । यसको स्थापना बंगलादेशका पिता मानिएका शेख मुजिबर रहमानको सम्मानमा गरिएको थियो । भारतले पहिलोपल्ट साफ आयोजना गरेको सन् १९८७ मा हो । त्यतिबेला आयोजक सहर रह्यो, पश्चिम बंगालको प्रसिद्ध सहर कोलकाता ।

हुगली नदीको छेउमा रहेको सहर त्यतिबेला कलकत्ता नामले परिचित थियो । नोभेम्बर २० देखि २७ सम्म आयोजित प्रतियोगिताको तेस्रो संस्करणमा समावेश गरिएको खेलसंख्या बढेर १० पुगेको थियो । प्रतियोगिताको उद्घाटन तत्कालीन भारतीय राष्ट्रपति रामास्वामी बैंकटरमनले गरेका थिए । मुख्य आयोजनास्थल थियो, प्रसिद्ध साल्टलेक स्टेडियम । यो भारतकै सबैभन्दा बढी दर्शक क्षमताको रंगशाला हो । सन् १९८९ मा राजधानी इस्लामाबादमा यस प्रतियोगिताको चौथो संस्करण आयोजना गरेको थियो ।

डिसेम्बर २० देखि २७ सम्म आयोजना भएको प्रतियोगिताको मुख्य आयोजनास्थल इस्लामाबादको प्रसिद्ध जिन्हा स्पोर्ट्स स्टेडियममा भएको थियो । सन् १९७० मा निर्माण भएको यो रंगशालाले आयोजना गरेको सबैभन्दा ठूलो खेल महोत्सव यही दक्षिण एसियाली खेलकुद रह्यो । पाकिस्तानका तत्कालीन राष्ट्रपति गुलाम इस्क खानले प्रतियोगिताको उद्घाटन गरे ।

पाँचौं संस्कणको दक्षिण एसियाली खेलकुदको आयोजना गर्ने पालो रह्यो श्रीलंकाको । राजधानी कोलम्बोले सन् १९९१ को डिसेम्बर २२ देखि ३१ सम्म प्रतियोगिताको आयोजना गरेको थियो । श्रीलंकाका तत्कालीन राष्ट्रपति रणसिंघे प्रेमादासाले प्रतियोगिताको उद्घाटन गरे । सुगतदासा रंगशालामा उद्घाटन र समापन समारोहसँगै अन्य प्रमुख खेलको आयोजना गरिएको थियो । सन् १९६२ मा निर्माण सम्पन्न भएको यस रंगशालालाई पाँचौं दक्षिण एसियाली खेलकुदका लागि भनेर पुनर्निर्माण गरिएको थियो ।

सन् १९९३ को डिसेम्बर २० देखि २७ सम्म बंगलादेशको राजधानी ढाकाले छैटौं संस्करणको दक्षिण एसियाली खेलकुद आयोजना गर्‍यो र यसक्रममा बन्यो, यो क्षेत्रका सर्वोच्च खेल महोत्सव दोस्रोपल्ट आयोजना गर्ने सहर । प्रतियोगिताका अधिकांस खेल फेरि एकपल्ट ढाकाका बन्गबन्धु नेसनल स्टेडियममा भएको थियो । प्रतियोगिताकै लागि भनेर रंगशालालाई नयाँ रूप दिइएको थियो । बंगलादेशका तत्कालीन राष्ट्रपति अब्दुर रहमान विश्वासले प्रतियोगिताको उद्घाटन गरे ।

भारतले सन् १९९५ मा दोस्रोपल्ट दक्षिण एसियाली खेलकुदको आयोजना गर्‍यो । प्रतियोगिताको सातौं संस्करण आयोजना गर्ने सहर रह्यो, दक्षिणी प्रान्त तमिलनाडुको राजधानी मद्रास । अचेल यसको नाम चेन्नई भएको छ, तर जतिबेला यो प्रतियोगिता आयोजना भएको थियो, सहर पुरानै नामले परिचित थियो । प्रतियोगिताको आयोजना डिसेम्बर १८ देखि २७ सम्म आयोजना भएको थियो । प्रतियोगिताको मुख्य आयोजनास्थल जवाहरलाल नेहरू स्टेडियम रहेको थियो ।

भारतका तत्कालीन राष्ट्रपति शंकरदयाल शर्माले उद्घाटन गरेका थिए । साफको आठौं संस्करणका लागि लामो चार वर्ष कुर्नुपर्‍यो । तर जतिबेला काठमाडौंले यसको आयोजना गर्‍यो, त्यो उत्कृष्ट आतिथ्यको अर्को नमुना बन्यो । नेपालको प्रदर्शन पनि प्रतियोगिताको इतिहासमै सर्वाधिक उत्कृष्ट रह्यो र पहिलोपल्ट दोस्रो स्थान हात पार्न सफल रह्यो । ढाका पनि नेपाल प्रतियोगिताको दोस्रोपल्ट आयोजना गर्ने दोस्रो सहर बन्यो ।

सन् १९९९ को सेप्टेम्बर २५ देखि अक्टोबर ४ सम्म आयोजित प्रतियोगितामा नेपालले भने ३१ स्वर्ण जितेर दोस्रो स्थान कब्जा गर्न सफल रह्यो । प्रतियोगिताका लागि भनेर दशरथ रंगशालाका पुनर्निर्माण गरिएको थियो । पहिलोपल्ट सिन्थेटिक ट्र्याक बिछ्याइएको थियो । प्रतियोगिताकै लागि भनेर सातदोबाटोमा पनि भौतिक संरचना पनि तयार भए । तत्कालीन राजा वीरेन्द्रले प्रतियोगिताको उद्घाटन गरे । पाकिस्तानको राजधानी इस्लामाबादले सन् २००४ मा दक्षिण एसियाली खेलकुदको नवौं संस्करण आयोजना गर्‍यो ।

यो इस्लामाबादले प्रतियोगिताको आयोजना गरेको दोस्रो अवसर हो । मार्च २९ देखि अप्रिल ७ सम्म आयोजित प्रतियोगिताको सबैभन्दा ठूलो विशेषता रह्यो, अफगानिस्तानको प्रवेश । जिन्हा स्टेडियम मुख्य आयोजनास्थल रहेको यस संस्करणको उद्घाटन तत्कालीन राष्ट्रपति परवेज मुसरफले गरेका थिए । कोलम्बोले दोस्रोपल्ट दक्षिण एसियाली खेलकुद आयोजना गर्नेक्रममा सन् २००६ मा यसको दसौं संस्करणको आयोजना गरेको थियो । अगस्ट १८ का सुरु भएर २८ मा सकिएको प्रतियोगिताको प्रमुख खेलस्थल प्रेमदासा स्टेडियम थियो ।

यसको उद्घाटन तत्कालीन राष्ट्रपति महिन्द्रा राजपाक्षेले गरेका थिए । प्रतियोगिताकै लागि भनेर प्रेमदासा स्टेडियम सुधार गरिएको थियो । प्रतियोगिताका बेला श्रीलंकाली सरकारले कडासुरक्षाको व्यवस्था गरेको थियो । ढाकाले सन् २००४ को जनवरी २९ देखि फेब्रुअरी ८ सम्म आयोजना भएको ११ औं संस्करण आयोजना गर्‍यो । फेरि एकपल्ट बंगबन्धु नेसनल स्टेडियममा आयोजना गरिएको थियो । प्रतियोगिताका लागि भनेर फेरि एकपल्ट स्टेडियममको पुनर्निर्माण गरिएको थियो । यसको उद्घाटन गरेकी थिइन् प्रधानमन्त्री शेख हसिनाले ।

दक्षिण एसियाली खेलकुदको इतिहासमै पहिलोपल्ट प्रतियोगिताको आयोजना दुई सहरले गरेको अवसर जुरेको थियो, सन् २०१६ मा । फेब्रुअरी ५ देखि १६ सम्म आयोजित प्रतियोगिताको १२ औं संस्करण भारतको उत्तरी पूर्वी दुई सहर गुवाहाटी र सिलोङमा भएको थियो । प्रतियोगिताको उद्घाटन आसाम गुवाहाटीको इन्दिरा गान्धी एथलेटिक्स स्टेडियममा भएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतियोगिताको उद्घाटन गरे । सिलोङको जवाहरलाल नेहरू स्टेडियममा खेलहरू आयोजना गरिएको थियो ।


प्रकाशित : मंसिर १५, २०७६ १५:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×