मूल घरमै दक्षिण एसियाली खेलकुद

दक्षिण एसियाली खेलकुद फेरि एकपल्ट नेपालमा फर्कंदा सबैले सम्झने तथ्य के हो भने नेपालले नै यो प्रतियोगिता आयोजना गर्नुपर्छ भन्ने सोच प्रस्तुत गरेको थियो । 
हिमेश

काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुद (साग) आजदेखि सुरु हुँदै छ । यो नेपालले आयोजना गर्न लागेको साग तेस्रो अवसर हो । यसअघि नेपालले सन् १९८४ मा पहिलोपल्ट प्रतियोगिताको आयोजना गरेको थियो । त्यतिबेला यसको नाम थियो, दक्षिण एसियाली महासंघीय खेलकुद । छोटकरीमा साफ ।

मूल घरमै दक्षिण एसियाली खेलकुद

यो नामले सन् १९९९ सम्म प्रतियोगिता भयो । यो संयोगले नेपालले दोस्रो पटक आयोजना गरेको प्रतियोगिता रह्यो । त्यसपछि भने यसको नाम दक्षिण एसियाली खेलकुद (साग) रहेको छ ।


बंगलादेशको ढाकापछि काठमाडौं तीनपल्ट दक्षिण एसियाली खेलकुद आयोजना गर्ने देश हुनेछ । यसपल्ट भने प्रतियोगिता आतिथ्य काठमाडौंले मात्र होइन, पोखरा र जनकपुरले पनि गर्नेछ । भारतले पनि तीनपल्ट प्रतियोगिताको आयोजना गरेको छ । तीनै अवसरमा आयोजक सहर फरक–फरक छन् । पाकिस्तान र श्रीलंकाले भने दुई–दुईपल्ट यो प्रतियोगिता आयोजना गरेका छन् । भुटान र माल्दिभ्सले अहिलेसम्म आयोजना गर्न सकेका छैनन् ।

दक्षिण एसियाली खेलकुद फेरि एकपल्ट नेपालमा फर्कंदा सबैले सम्झने तथ्य के हो भने नेपालले नै यो प्रतियोगिता आयोजना गर्नुपर्छ भन्ने सोच प्रस्तुत गरेको थियो । अवधारणा तयार भइसक्दा पनि प्रतियोगिताले गति लिन नसकेपछि नेपालले नै अगाडि सरेर पहिलो संस्करणको प्रतियोगिता आयोजना गरेको थियो । त्यसैले प्रतियोगिताको सोच र कार्यान्वयनको जस नेपाललाई जाने गर्छ । निकै लामो समयको छलफलपछि मात्र प्रतियोगिता पहिलोपल्ट काठमाडौं आयोजना भएको थियो ।


दक्षिण एसियाली देश आफ्नो छुट्टै खेल महोत्सवको लागि प्रेरित हुनु पछाडि केही ठोस कारण पनि थिए । एक त यसले दक्षिण एसियाली देशबीचको सम्बन्ध अझ सुदृढ हुने निश्चित थियो, खेलकुदको माध्यमबाट । दोस्रो कारण थियो, दक्षिण पूर्वी एसिया र पश्चिम एसियाका आ–आफ्नै क्षेत्रीय प्रतियोगिता हुन्थ्यो । यसको सञ्चालन पनि सफलतापूर्वक भइरहेको थियो । तेस्रो महत्त्वपूर्ण कारण भने ओलम्पिक र एसियाली खेलकुद जस्ता ठूला खेल महोत्सवमा दक्षिण एसियाली देशले प्रस्तुत गर्ने कमजोर चुनौती ।


ओलम्पिकमा अधिकांस समय दक्षिण एसियाको चुनौती केबल सहभागितामै सीमित हुने गर्थ्यो । एसियाली स्तरमा भने भारतले मात्र केही राम्रो गर्दै आएको थियो । यी सबै कारण देखाएर नेपालले प्रतियोगिता आयोजनाको कारण तयार पारेको थियो । बंगलादेशले लगातार दुईपल्ट प्रतियोगिता आयोजना गर्न असमर्थता देखाएपछि नेपालले अगाडि सरेको थियो । पहिलो साफ काठमाडौंमा सन् १९८४ सेप्टेम्बर १७ देखि २३ सम्म आयोजना भएको थियो ।

पहिलो संस्करणमा जम्मा पाँच खेल मात्र समावेश थियो । ती थिए– एथलेटिक्स, पौडी, फुटबल, बक्सिङ र भारोत्तोलन । सहभागी संख्या पनि निकै कम थियो, ३ सय ७३ मात्र । प्रतियोगिताको सफल आयोजनाका लागि नेपालले कुनै प्रकारको कन्ज्युस्याइँ गरेको थिएन र नेपालको आतिथ्यमा सबै पाहुना खुसी भएका थिए । प्रतियोगिताको उद्घाटन र समापन समारोह दशरथ रंगशालामा आयोजना भएको थियो । तत्कालीन राजा वीरेन्द्रले भव्य समारोहबीच प्रतियोगिताको उद्घाटन गरेका थिए ।


कुल १ सय ८५ पदकका लागि भएको प्रतियोगितामा भारत ४४ स्वर्ण पदकसहित शीर्षस्थानमा रह्यो । त्यसयता श्रीलंका र पाकिस्तान रहे । आयोजक नेपालले चार स्वर्ण पदक जित्यो र चौथो स्थानमा रह्यो । नेपालले पहिलो साफको के आयोजना गरेको थियो, बंगलादेशलाई त्यसको दोस्रो संस्करण आयोजना गर्न हतार भइहाल्यो । एक वर्ष जतिको अन्तरमै बंगलादेशको ढाकाले सन् १९८५ को डिसेम्बर २० देखि २६ सम्म खेलकुदको माध्यमबाट दक्षिण एसियाकै सात देशलाई जोड्ने प्रयास गर्‍यो ।


ढाकाले पनि प्रतियोगिता आयोजनामा कुनै कसर बाँकी राखेन । एउटा स्वतन्त्र देशको रूपमा अस्तित्वमा आएयता बंगलादेशमा भएको त्यो पहिलो ठूलो खेल महोत्सव थियो । प्रतियोगिताको मुख्य आयोजनास्थल ढाकाको प्रसिद्ध बंगबन्धु नेसनल स्टेडियम । यसको स्थापना बंगलादेशका पिता मानिएका शेख मुजिबर रहमानको सम्मानमा गरिएको थियो । भारतले पहिलोपल्ट साफ आयोजना गरेको सन् १९८७ मा हो । त्यतिबेला आयोजक सहर रह्यो, पश्चिम बंगालको प्रसिद्ध सहर कोलकाता ।


हुगली नदीको छेउमा रहेको सहर त्यतिबेला कलकत्ता नामले परिचित थियो । नोभेम्बर २० देखि २७ सम्म आयोजित प्रतियोगिताको तेस्रो संस्करणमा समावेश गरिएको खेलसंख्या बढेर १० पुगेको थियो । प्रतियोगिताको उद्घाटन तत्कालीन भारतीय राष्ट्रपति रामास्वामी बैंकटरमनले गरेका थिए । मुख्य आयोजनास्थल थियो, प्रसिद्ध साल्टलेक स्टेडियम । यो भारतकै सबैभन्दा बढी दर्शक क्षमताको रंगशाला हो । सन् १९८९ मा राजधानी इस्लामाबादमा यस प्रतियोगिताको चौथो संस्करण आयोजना गरेको थियो ।


डिसेम्बर २० देखि २७ सम्म आयोजना भएको प्रतियोगिताको मुख्य आयोजनास्थल इस्लामाबादको प्रसिद्ध जिन्हा स्पोर्ट्स स्टेडियममा भएको थियो । सन् १९७० मा निर्माण भएको यो रंगशालाले आयोजना गरेको सबैभन्दा ठूलो खेल महोत्सव यही दक्षिण एसियाली खेलकुद रह्यो । पाकिस्तानका तत्कालीन राष्ट्रपति गुलाम इस्क खानले प्रतियोगिताको उद्घाटन गरे ।


पाँचौं संस्कणको दक्षिण एसियाली खेलकुदको आयोजना गर्ने पालो रह्यो श्रीलंकाको । राजधानी कोलम्बोले सन् १९९१ को डिसेम्बर २२ देखि ३१ सम्म प्रतियोगिताको आयोजना गरेको थियो । श्रीलंकाका तत्कालीन राष्ट्रपति रणसिंघे प्रेमादासाले प्रतियोगिताको उद्घाटन गरे । सुगतदासा रंगशालामा उद्घाटन र समापन समारोहसँगै अन्य प्रमुख खेलको आयोजना गरिएको थियो । सन् १९६२ मा निर्माण सम्पन्न भएको यस रंगशालालाई पाँचौं दक्षिण एसियाली खेलकुदका लागि भनेर पुनर्निर्माण गरिएको थियो ।


सन् १९९३ को डिसेम्बर २० देखि २७ सम्म बंगलादेशको राजधानी ढाकाले छैटौं संस्करणको दक्षिण एसियाली खेलकुद आयोजना गर्‍यो र यसक्रममा बन्यो, यो क्षेत्रका सर्वोच्च खेल महोत्सव दोस्रोपल्ट आयोजना गर्ने सहर । प्रतियोगिताका अधिकांस खेल फेरि एकपल्ट ढाकाका बन्गबन्धु नेसनल स्टेडियममा भएको थियो । प्रतियोगिताकै लागि भनेर रंगशालालाई नयाँ रूप दिइएको थियो । बंगलादेशका तत्कालीन राष्ट्रपति अब्दुर रहमान विश्वासले प्रतियोगिताको उद्घाटन गरे ।


भारतले सन् १९९५ मा दोस्रोपल्ट दक्षिण एसियाली खेलकुदको आयोजना गर्‍यो । प्रतियोगिताको सातौं संस्करण आयोजना गर्ने सहर रह्यो, दक्षिणी प्रान्त तमिलनाडुको राजधानी मद्रास । अचेल यसको नाम चेन्नई भएको छ, तर जतिबेला यो प्रतियोगिता आयोजना भएको थियो, सहर पुरानै नामले परिचित थियो । प्रतियोगिताको आयोजना डिसेम्बर १८ देखि २७ सम्म आयोजना भएको थियो । प्रतियोगिताको मुख्य आयोजनास्थल जवाहरलाल नेहरू स्टेडियम रहेको थियो ।


भारतका तत्कालीन राष्ट्रपति शंकरदयाल शर्माले उद्घाटन गरेका थिए । साफको आठौं संस्करणका लागि लामो चार वर्ष कुर्नुपर्‍यो । तर जतिबेला काठमाडौंले यसको आयोजना गर्‍यो, त्यो उत्कृष्ट आतिथ्यको अर्को नमुना बन्यो । नेपालको प्रदर्शन पनि प्रतियोगिताको इतिहासमै सर्वाधिक उत्कृष्ट रह्यो र पहिलोपल्ट दोस्रो स्थान हात पार्न सफल रह्यो । ढाका पनि नेपाल प्रतियोगिताको दोस्रोपल्ट आयोजना गर्ने दोस्रो सहर बन्यो ।


सन् १९९९ को सेप्टेम्बर २५ देखि अक्टोबर ४ सम्म आयोजित प्रतियोगितामा नेपालले भने ३१ स्वर्ण जितेर दोस्रो स्थान कब्जा गर्न सफल रह्यो । प्रतियोगिताका लागि भनेर दशरथ रंगशालाका पुनर्निर्माण गरिएको थियो । पहिलोपल्ट सिन्थेटिक ट्र्याक बिछ्याइएको थियो । प्रतियोगिताकै लागि भनेर सातदोबाटोमा पनि भौतिक संरचना पनि तयार भए । तत्कालीन राजा वीरेन्द्रले प्रतियोगिताको उद्घाटन गरे । पाकिस्तानको राजधानी इस्लामाबादले सन् २००४ मा दक्षिण एसियाली खेलकुदको नवौं संस्करण आयोजना गर्‍यो ।

यो इस्लामाबादले प्रतियोगिताको आयोजना गरेको दोस्रो अवसर हो । मार्च २९ देखि अप्रिल ७ सम्म आयोजित प्रतियोगिताको सबैभन्दा ठूलो विशेषता रह्यो, अफगानिस्तानको प्रवेश । जिन्हा स्टेडियम मुख्य आयोजनास्थल रहेको यस संस्करणको उद्घाटन तत्कालीन राष्ट्रपति परवेज मुसरफले गरेका थिए । कोलम्बोले दोस्रोपल्ट दक्षिण एसियाली खेलकुद आयोजना गर्नेक्रममा सन् २००६ मा यसको दसौं संस्करणको आयोजना गरेको थियो । अगस्ट १८ का सुरु भएर २८ मा सकिएको प्रतियोगिताको प्रमुख खेलस्थल प्रेमदासा स्टेडियम थियो ।


यसको उद्घाटन तत्कालीन राष्ट्रपति महिन्द्रा राजपाक्षेले गरेका थिए । प्रतियोगिताकै लागि भनेर प्रेमदासा स्टेडियम सुधार गरिएको थियो । प्रतियोगिताका बेला श्रीलंकाली सरकारले कडासुरक्षाको व्यवस्था गरेको थियो । ढाकाले सन् २००४ को जनवरी २९ देखि फेब्रुअरी ८ सम्म आयोजना भएको ११ औं संस्करण आयोजना गर्‍यो । फेरि एकपल्ट बंगबन्धु नेसनल स्टेडियममा आयोजना गरिएको थियो । प्रतियोगिताका लागि भनेर फेरि एकपल्ट स्टेडियममको पुनर्निर्माण गरिएको थियो । यसको उद्घाटन गरेकी थिइन् प्रधानमन्त्री शेख हसिनाले ।


दक्षिण एसियाली खेलकुदको इतिहासमै पहिलोपल्ट प्रतियोगिताको आयोजना दुई सहरले गरेको अवसर जुरेको थियो, सन् २०१६ मा । फेब्रुअरी ५ देखि १६ सम्म आयोजित प्रतियोगिताको १२ औं संस्करण भारतको उत्तरी पूर्वी दुई सहर गुवाहाटी र सिलोङमा भएको थियो । प्रतियोगिताको उद्घाटन आसाम गुवाहाटीको इन्दिरा गान्धी एथलेटिक्स स्टेडियममा भएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतियोगिताको उद्घाटन गरे । सिलोङको जवाहरलाल नेहरू स्टेडियममा खेलहरू आयोजना गरिएको थियो ।



प्रकाशित : मंसिर १५, २०७६ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?