२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

महिला भलिबलमा रजत पदक पक्का

स्वर्णका लागि भारतसँग भिड्ने
कुशल तिमल्सिना

काठमाडौँ — श्रीलंकालाई पराजित गरी नेपाली महिला भलिबल टोली एक महिनाको अन्तरमा लगातार दोस्रो अन्तर्राष्ट्रिय उपाधि नजिक पुगेको छ । 
दुई साताअघि एभीसी सेन्ट्रल जोन वुमन्स भलिबल च्याम्पियनसिपको उपाधि जितेको नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनल पुगेर कम्तीमा रजत पदक पक्का गरेको हो । दक्षिण एसियाली खेलकुदमा महिला भलिबलतर्फ नेपाल पहिलोपल्ट फाइनल यात्रा तय गरेको हो ।

महिला भलिबलमा रजत पदक पक्का

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा खचाखच घरेलु समर्थकमाझ नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । दक्षिण एसियाकै बलियो टोलीमध्ये एक श्रीलंकालाई नेपालले सोझो सेटमा हराएको पनि पहिलोपल्ट हो । सुरुआती दुई सेटमा नेपालले कुनै समय पछाडि नपरेर २५–१४, २५–१७ सेट आफ्नो पक्षमा बनायो । तेस्रो सेटमा आरामदायी देखिएको नेपाल सुरुदेखि नै पछि पर्‍यो । १२–१२ को बराबरीबाट अग्रता लिएको नेपालले त्यसपछि पछाडि फर्केर हेर्नुपरेन । तेस्रो सेट २५–२१ ले जितेर नेपालले इतिहास कायम गरेको छ ।


जितपछिको पत्रकार सम्मेलनमा कप्तान अरुणा शाहीले पछिल्लो चार महिनाको मिहिनेतको नतिजाका रूपमा यो जित अर्थ्याइन् । ‘लामो समयदेखि मिहिनेत गरिरहेका छौं । हामीले दिनदिनै राम्रो प्रदर्शन दिइरहेका छौं । फाइनलमा भारतसँग अझै सुधारिएको प्रदर्शनका लागि प्रयासरत हुनेछौं,’ उनले भनिन् ।


कप्तान अरुणाका अनुसार श्रीलंकाविरुद्धको जितमा नेपालको खेलस्तर पनि राम्रो थियो । घरेलु समर्थकले पनि सकारात्मक उर्जा दिएका थिए । उनले थपिन्, ‘पछिल्लो खेलभन्दा श्रीलंकाले पनि राम्रो खेलेको हो । आज हामीले उपल्लो स्तरको खेल प्रदर्शन गर्‍यौं । घरेलु समर्थकको जोसले हामीलाई उर्जा थपिएको महसुस भयो ।’ प्रशिक्षक जगदीश भट्टले पनि सफलताको श्रेय लामो समयदेखिको तयारीलाई नै दिए । ‘नेपाल भलिबल संघको योजना र राखेपको सहयोगमा खेलाडीले वैदेशिक प्रशिक्षण, प्रतियोगितासहित राम्रो एक्पोजर पाए । हाम्रा खेलाडीहरू स्तरीय र क्षमतावान छन् भन्ने प्रमाण पनि आजको जित हो,’ उनले थपे, ‘श्रीलंकाका मुख्य खेलाडीको भिडियो फुटेज हेरेर उनीहरूलाई टार्गेट गरेका थियौं । अर्को कुरा उनीहरूको स्पाइक, ब्लक र सर्भिस राम्रो थियो, हामीले त्यहीअनुसार तयारी गरेका थियौं । हाम्रा खेलाडीले पछिल्लो खेलको कमजोरी पनि सुधार गरे ।’


प्रशिक्षक भट्टले भारतविरुद्धको फाइनलमा दबाबविना कोर्टमा उत्रने बताए । ‘हामीले ऐतिहासिक रजत जितिसकेका छौं । अब हाम्रो लक्ष्य फाइनलमा भारतलाई हराउने हो । त्यसका लागि हामीलाई लिग चरणमा जस्तो कुनै दबाब हुने छैन । श्रीलंकाको यही टोलीसँग भारतले हालै पाँच सेट खेलेको छ । हामी भारतलाई हराउनै नसक्ने होइनौं,’ उनले भने ।


भारतलाई हराउने लक्ष्य लिँदा आफ्नो टिममा केही सुधार आवश्यक उनले देखेका छन् । ‘हाम्रो मिडल पोजिसनका खेलाडीबीच अझै राम्रो तालमेल मिलेको छैन । यसबाहेक डिफेन्समा सुधार गर्नुपर्छ र सशक्त सर्भिस प्रहार गर्नुपर्छ । यसबाहेक केही स–साना गल्तीहरू सुधारेर नकारात्मक अंक दिनु हुँदैन,’ उनले थपे, ‘अलिकति सुधार गर्दा भारतलाई हराउन कठिन हुँदैन ।’


उपाधिका लागि नेपालले भारतसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ । लिग चरणको खेलमा नेपालले भारतसँग ३–० को सोझो सेटमा पराजय बेहोरेको थियो । पहिलो सेट २२–२४ ले अग्रता लिएर २४–२६ ले गुमाएको नेपालले त्यसयता दुई सेटमा कमजोर प्रदर्शन गरेको थियो ।


दक्षिण एसियाली खेलकुदमा २० वर्षको इतिहासमा नेपालले ३ कांस्य जितेको छ । सन् १९९९ मा नेपालमै भएको साफमा पहिलो सहभागितामै कांस्य जितेको थियो । सन् २००४ को नवौं र सन् २००६ को दसौं संस्करणमा महिला भलिबल समावेश थिएन ।


सन् २०१० मा बंगलादेशमा सम्पन्न ११ औं सागमा नेपालले कांस्य जित्दा सेमिफाइनलमा श्रीलंकासँग सोझो सेटमा पराजय बेहोरेको थियो । सन् २०१४ मा नेपालमै भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा नेपालले श्रीलंकामाथि ५ सेटमा विजय पाएको थियो । श्रीलंकाविरुद्ध त्यो ऐतिहासिक पहिलो जित पनि थियो ।


सन् २०१६ मा भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुदमा पनि नेपाली टोली कांस्यमै समेटिएको थियो । जतिबेला लिग चरणमा श्रीलंका र सेमिफाइनलमा भारतसँग पराजित भएको थियो । भलिबल संघले गत जेठमा युवा खेलाडीलाई समेटेर टिम तयार पार्दै सागको तयारी सुरु गरेको हो । यसबीच त्यही टिमले कात्तिक अन्तिम साता बंगलादेशमा सम्पन्न सेन्ट्रल जोनमा शतप्रतिशत जित निकाल्दै उपाधि जितेको थियो ।

प्रकाशित : मंसिर १५, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?