कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

साग आजदेखि, अहिलेसम्मकै ठूलो इभेन्ट

विनोद पाण्डे

काठमाडौँ — दक्षिण एसियाली खेलकुद आफ्नो जन्मभूमि फर्किएको छ । छोटकरीमा साफ हुँदै सागको नाममा परिचित यस क्षेत्रीय खेलकुद स्पर्धा नेपालले तेस्रोपल्ट आयोजना गरेको हो । दक्षिण एसियाको ओलम्पिक मानिने यो प्रतियोगिता १३ औं संस्करण हो । इभेन्टका हिसाबमा यो अहिलेसम्मकै ठूलो हो । 

साग आजदेखि, अहिलेसम्मकै ठूलो इभेन्ट

आयोजक नेपाल यसलाई अहिलेसम्मकै भव्य बनाउन लागिपरेको छ । भलिबलको स्पर्धा चार दिनअघि नै सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार उद्घाटन गरेपछि सागको औपचारिक सुरुवात हुनेछ ।


पूर्वाधार निर्माण भने अन्तिम समयमा पनि पूर्ण हुन सकेको छैन । मुख्य खेलस्थल दशरथ रंगशालाको भित्री ढोका छिर्ने ठाउँमा शनिबार पिच गर्ने कार्य जारी थियो । सातदोबाटोस्थित पौडीपोखरीलाई हिटिङ सिस्टमको बनाइए पनि पोखरीमा अझै पानी हालिएको छैन । लगनखेलस्थित आर्मीको कभर्डहलमा उसुको म्याट बिछ्याउन बाँकी छ । बन्दुक नआएका कारण सुटिङका खेलाडीले १० वर्ष पुरानै हतियार चलाउनुपर्ने बाध्यता छ । अन्यका पनि खेल सामग्री आइपुगेका छैनन् ।


राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल १३ औं साग उद्घाटन हुन मात्र बाँकी रहेको जनाउँछन् । निर्माणाधीन कार्य समयमै सकिने उनले दाबी गरे । सन् २०१६ को फेब्रुअरीमा भारतको गुवाहाटी र सिलोङमा भएको पछिल्लो संस्करणमा नेपालले आयोजनाको झन्डा लिएको थियो । तर दशरथ रंगशालाको पुनर्निर्माणसहित अन्य भौतिक पूर्वाधार तयार नहुँदा दुई पटक सर्दै साग अहिले आयोजना गरिएको हो ।


२८ खेल समावेश यस संस्करणमा समान ३ सय २४ स्वर्ण र रजत तथा ४ सय ८७ कांस्यका लागि प्रतिस्पर्धा हुनेछ । बंगलादेशमा २०१० मा भएको सागमा २३ इभेन्ट तथा २०१६ मा २२ इभेन्ट थिए । २००६ मा श्रीलंकामा भएको सागमा यसअघि सबैभन्दा बढी २ सय २५ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । १३ औं सागमा कुल २९ खेल भए पनि नेपालको निकै राम्रो सम्भावना भएको प्याराग्लाइडिङमा सहभागी राष्ट्र तीन पनि नपुगेपछि त्यसलाई हटाइएको छ ।


७ देशका ३ हजारभन्दा बढी खेलाडीले यसपालि प्रतिस्पर्धा गर्नेछन् । त्यसमा नेपालको सबैभन्दा धेरै ५ सय ९४ खेलाडी छन् । राष्ट्रिय टिम तयारी समितिका संयोजक रिमबहादुर रानाभाटका अनुसार १ सय २१ जना स्वदेशी र १३ जना विदेशी प्रशिक्षक तथा ५२ जना व्यवस्थापकसमेत गरेर नेपाली टोली ७ सय ८० जनाको छ ।


मार्चपासमा नेपालको झन्डा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले बोक्नेछन् । उनले २००६ मा स्वर्ण पदक जितेका थिए, जुन भारोत्तोलनमा नेपालको अहिलेसम्मको एउटै स्वर्ण हो । त्यस्तै राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले खेलाडीका तर्फबाट तथा ब्याडमिन्टनका दीपक श्रेष्ठले निर्णायकका तर्फबाट शपथग्रहण गर्नेछन् । सातै प्रदेशमा पुर्‍याइएको ओलम्पिक टर्च तेक्वान्दोका दीपक विष्टले बाल्नेछन् । उनलाई अन्य ओलम्पियन खेलाडीले साथ दिनेछ । काठमाडौं र पोखरा यसपटकका मुख्य खेलस्थल हुन् । काठमाडौं, ललितपुर, कीर्तिपुर र गोकर्णेश्वरमा एथलेटिक्स, बास्केटबल, थ्रीबाईथ्री बास्केटबल, बक्सिङ, पुरुष क्रिकेट, साइक्लिङ, फेन्सिङ, पुरुष क्रिकेट, गल्फ, जुडो, कबड्डी, कराते, खोखो, पौडी, सुटिङ, स्क्वायस, टेबलटेनिस, तेक्वान्दो, भलिबल र उसु आयोजना हुनेछन् ।



पोखरामा आर्चरी, ब्याड्मिन्टन, महिला क्रिकेट, महिला फुटबल, ह्यान्डबल, ट्रायथलन, बिच भलिबल र भारोत्तोलनका प्रतिस्पर्धा हुनेछन् । जनकपुरमा कुस्ती आयोजना हुनेछ । साग नेपालकै परिकल्पना हो । यसको पहिलो संस्करण नेपालले सन् १९८४ मा आयोजना गरेको थियो । १५ वर्षपछि १९९९ मा नेपालले सागको आठौं संस्करण सफलतापूर्वक सम्पन्न गरेको थियो । यसअघि दुवै पटक नेपालले आयोजना गर्दा सम्पूर्ण खेल काठमाडौं केन्द्रित थियो ।



प्रकाशित : मंसिर १५, २०७६ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?