नेपाल समूह चरणबाटै बाहिर

काठमाडौँ — समूहको आफ्नो दोस्रो खेलमा शुक्रबार भारतसँग पराजित भएपछि नेपाली पुरुष भलिबल टोली १३ औं दक्षिण एसियाली खेलकुदबाट बाहिरिएको छ । नेपालले ३–० को सोझो सेटमा पराजित भयो । समूह ‘ए’ मा रहेको नेपाल पहिलो खेलमा बंगलादेशसँग ३–२ को सेटमा खेल हारेको थियो ।

नेपाल समूह चरणबाटै बाहिर

सेमिफाइनलमा पुग्ने लक्ष्य लिएको नेपालले सागअघि भारतीय टोलीसँग उसकै भूमिमा अभ्यास गरेको थियो । तीन मैत्रीपूर्ण खेलमा नेपालले एक सेट जितेको थियो । अरु सेटमा कडा चुनौती दिएको थियो । प्रतियोगितामा भने भारत एकपक्षीय हाबी भयो । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा घरेलु टोलीले कुनै पनि सेटमा चुनौती दिन सकेन । नेपालले २५–१५, २५–१२, २५–१६ ले खेल गुमायो ।


खेलपछि पत्रकार सम्मेलनमा नेपाली टोलीका उपकप्तान कुलबहादुर थापाले भावनात्मक तर्क गरे । उनले भारतजस्ता बलिया टिमविरुद्ध प्रतिस्पर्धाका लागि योग्य बनाउन भलिबलमा दीर्घकालीन लगानी थप्नुपर्ने र आफूभन्दा बलिया टोलीसँग पर्याप्त खेल अनुभवको व्यवस्था मिलाउनुपर्ने बताए ।


‘हामीलाई सरकारबाट पनि राम्रो लगानी छैन । प्रतियोगिता खेल्न जर्सीका लागि प्रायोजक खोज्नुपर्ने लज्जास्पद अवस्थामा हामी छौं अनि भारतलाई हराओस् भन्ने कामना पनि गर्छौं,’ प्रतियोगितामा कोर्टमा उत्रन नपाएका उपकप्तान कुलबहादुरले प्रश्न गरे, ‘भारतजस्तो टिमलाई पराजित गर्ने सामर्थ्य जुटाउन त्यहीअनुसार लगानी खोइ ?’


प्रतियोगिताका लागि नेपाली टिमलाई टिपटपले जर्सी, ट्रयाकसुट तथा भलिबल संघ जापान शाखाका अध्यक्ष नवीन गुरुङले किट ब्याग प्रायोजन गरेका थिए ।


पर्याप्त सुविधा र खेल अनुभव भएमा अबको ४–५ वर्षसम्ममा नेपालले भारतलाई हराउन सक्ने दाबी कुलबहादुरको छ । ‘हामीले हामीभन्दा बलिया टोलीसँग नियमित खेल्न पाएका छैनौं । ४० वर्षपछि एसियाली खेलकुदमा गत वर्ष खेलेका हौं । नत्र सेन्ट्रल जोन र सागमात्र,’ उनले थपे, ‘हामीले हाम्रो भविष्यबारे चिन्ता नगरी खेल्ने वातावरण भयो र भलिबलमा सरकारको लगानी राम्रो भयो भने ४–५ वर्षसम्म भारतलाई हराउन सक्ने हुन्छौं ।’


यसअघि बंगलादेशसँग पराजित भएपछि कप्तान इम रानामगरले पनि बारम्बार प्रशिक्षक परिवर्तन हुनुले रणनीतिक रुपमा तयारी गर्न कठिन भएको बताएका थिए । गत वर्षको एसियाली खेलकुदमा डी जोङ प्रशिक्षक थिए । साउनमा सम्पन्न एसियन सिनियर मेन्स सेन्ट्रल जोन भलिबलमा हान आविङको प्रशिक्षण थियो । सागका लागि पुन: डी जोङलाई प्रशिक्षकको रूपमा बोलाइयो । ‘छोटो समयमा लगातार प्रशिक्षक परिवर्तन हुँदा उनीहरूको रणनीतिअनुसार टिमसेट गर्न कठिन भएको छ,’ कप्तान इमले भनेका थिए ।


उपकप्तान कुलबहादुरले बंगलादेशसँगको खेल हार्नु नै नेपाल समूह चरणबाटै बाहिरिनुको कारक भएको बताए । ‘भारतसँग जितको अपेक्षा थिएन । भारत हामीभन्दा अर्कै स्तरको टिम हो । तर पहिलो खेल हामीले जित्नुपर्थ्यो, जित्नसक्ने पनि थियौं । त्यही नै दुर्भाग्य भयो,’ उनले भने, ‘भारतसँगको खेलमा उनीहरूलाई उचाइको फाइदा थियो, त्यसको भरपूर सदुपयोग गरे । हाम्रा खेलाडी हतोत्साही देखिए ।’


प्रशिक्षक डी जोङले हारका बाबजुद आफ्नो टिमको प्रदर्शनमा सन्तुष्टि व्यक्त गरे । ‘भारत हामीभन्दा बलियो टिम हो । उनीहरू अनुभवी छन् र लामो समयदेखि शीर्षस्तरमा प्रदर्शन गरिरहेका छन् । उनीहरूविरुद्ध मेरा खेलाडीले गरेको प्रयासको सराहना गर्छु,’ खेलपछि उनले भने ।


भारतका प्रशिक्षक जीई श्रीधरणले सोझो सेटको जितमा खुसी रहेको बताउँदै नेपाली टोलीको प्रदर्शनको पनि प्रशंसा गरे । ‘नेपाली टिमको खेलमा सुधार भएको छ । व्यक्तिगत रूपमा मैले घरेलु टोलीलाई सेमिफाइनलमा हेर्न चाहेको थिएँ । नेपाल त्यसको हकदार थियो । तर बंगलादेशसम्म ५ सेटमा पुगेर पनि कसरी पराजित भयो म भन्न सक्दिनँ ।’ भारतका कप्तान जेरोमी भिनिथले भने घरेलु मैदानमा खेलेजस्तो महसुस भएको प्रतिक्रिया दिए ।


सागका लागि मात्र अनुबन्धित भएका प्रशिक्षक डी जोङले पछिल्लो ३ वर्षमा नेपालको पुरुष भलिबल टोलीले निकै सुधार गरेको दाबी गरे । नेपाल भलिबल संघ र नेदरल्यान्ड्स भलिबल फेडेरेसनबीचको सम्झौतापछि उसले आफूमातहत स्तरीय प्रशिक्षक पठाउँदै आएको छ । ‘मैले ३ वर्षदेखि नेपाली भलिबल हेरिरहेको छु । यसबीच धेरै सुधार भएको छ । यहाँका युवा खेलाडीले प्रशस्त सम्भावना देखाएका छन्,’ उनले भने ।


अन्तर्राष्ट्रिय सहभागिताको ४० वर्ष लामो इतिहासमा नेपाली भलिबलले अहिलेसम्म उल्लेख्य सफलताको स्वाद चाख्न पाएको छैन । सन् १९७८ को एसियाली खेलकुदमा पहिलोपल्ट अन्तर्राष्ट्रिय सहभागिता जनाएयता दुई वर्षअघि एभीसी सिनियर मेन्स सेन्ट्रल जोन भलिबलमा जितेको कांस्य पदक नेपालले सर्वाधिक ठूलो सफलता हो । यसपल्ट समूह चरणबाटै बाहिरिएपछि नेपालको पदक सम्भावना पुन: टरेको छ ।


नेपाललाई पराजित गरेपछि भारत समूह विजेता हुँदै सेमिफाइनल पुगेको छ । भारतले बंगलादेशलाई हराएको थियो । नेपाललाई हराएको बंगलोदश समूह उपविजेता भएर सेमिफाइनल पुगेको हो । समूह ‘बी’ बाट श्रीलंका र पाकिस्तान सेमिफाइनल पुगेका छन् । श्रीलंकाले शुक्रबार माल्दिभ्सलाई २५–१८, २५–२३, २५–१७ ले हराएको थियो । श्रीलंका र पाकिस्तानबीचको खेलले समूह विजेता टुंगो लगाउने छ ।


प्रकाशित : मंसिर १४, २०७६ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?