कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कुस्तीलाई इतिहास रच्ने मौका

राजेन्द्र नाथ

काठमाडौँ — दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली कुस्तीको यात्रा निकै रोचक छ । चौथो संस्करणबाट भाग लिन थालेका कुस्ती खेलाडी अहिलेसम्म रित्तो हात घर फर्किनुपरेको छैन । उनीहरूले कुनै न कुनै पदक थापेकै छन् । सागमा पदकसंख्या थप्ने खेलका रूपमा चिनिएको कुस्तीलाई यसपल्ट भने घरेलु दर्शकमाझ आफ्नै भूमिमा ‘अग्निपरीक्षा’ दिनुपर्नेछ ।

कुस्तीलाई इतिहास रच्ने मौका

उसलाई एकातिर पुरानो लय कायमै राख्नुपर्ने दबाब छ भने अर्कोतर्फ ‘होम ग्राउन्ड’ मा नयाँ इतिहास रच्ने मौका छ । ‘स्वदेशमै खेल भइरहेको छ । स्वदेशी दर्शकको साथ र समर्थनबीच यसपालि नयाँ इतिहास बनाउने मौका छ,’ प्रमुख प्रशिक्षक ब्रम्हदेव यादव आत्मविश्वासी सुनिए, ‘खेलाडीले कडा मिहिनेत गरेका छन् । सबै जनकपुर ‘अखडा’ मा प्रतीक्षारत छन् ।


काठमाडौंमा सम्पन्न आठौं साफमा त ५ कांस्य पदक नै हात पार्‍यो । नवौं सागमा सहभागी भएन । प्रशिक्षक यादवका अनुसार कुस्तीले देशका लागि अहिलेसम्म १६ पदक (रजत र कांस्य) भित्र्याइसकेको छ । ‘प्रतिनिधित्वको छोटो समय मै यसलाई राम्रो सफलता मान्नुपर्छ,’ उनले भने, ‘आन्तरिक विवाद (कुस्ती संघमा समानान्तर गतिविधि) छाडेर सबैजना सागमा होमिएका छौं ।’


तराई–मधेसको लोकप्रिय खेल हो कुस्ती । त्यसैले पनि जुराइएको थियो जनकपुर ‘दंगल’ । १३ औं सागको एउटा मात्रै खेल कुस्ती जनकपुरस्थित धनुषा जिल्ला कर्भडहलमा आयोजना हुनेछ । त्यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । हेटौंडामा लामो बन्द प्रशिक्षण पछि खेलाडीहरू काठमाडौं आएका छन् । १६ गते उनीहरू जनकपुर पुग्ने कार्यक्रम तय भएको छ । त्यहाँका स्थानीयवासी स्वदेशी र विदेशी खेलाडीलाई स्वागत गर्न आतुर छन् ।


तराई–मधेसका २२ जिल्लामा केही वर्षयता आधुनिक कुस्ती प्रतियोगिता नबिराई हुने गरेको छ । अर्का प्रशिक्षक मुमताज अली इद्रिसी त्यहाँको हावापानी र माटो सुहाउँदो खेल नै कुस्ती भएको बताउँछन् । प्रमुख प्रशिक्षक रहिसकेका इद्रिसीका अनुसार अहिले सहभागी देशमध्ये आधुनिक कुस्तीमा नेपाल पछाडि नै छ । सस्तो खेल भए पनि राज्यले यसतर्फ ध्यान नदिएको गुनासो उनको छ । ‘सात प्रदेशमा ७ वटा म्याट पनि छैनन् । २७ वटा जिल्लामा कुस्ती खेल हुन्छ । तर ९ जना प्रशिक्षक छन्,’ उनले भने, ‘स्वयंसेवक कोचहरूले कुस्ती धानिरहेका छन् ।’


आयोजक नेपालले नै तराई–मधेस क्षेत्रमा कुस्तीको लोकप्रियता देखेर प्रदेश २ को राजधानी जनकपुरलाई ‘सिम्बोलिक’ रूपमा आयोजनास्थल तोकेको थियो । १३ औं सागका अधिकांस खेलहरू भने संघीय राजधानी काठमाडौं र गण्डकीको प्रदेश राजधानी पोखरामा हुनेछन् ।


१३ औं सागको कुस्तीतर्फ भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र नेपालका खेलाडी भिड्नेछन् । महिला–पुरुषका ७–७ तौल समूहमा नेपाली खेलाडीले प्रतिनिधित्व गर्ने तय भएको छ । ५७ केजी तौल समुहको पुरुषतर्फ नरेश यादव, ६५ केजीमा सरोज यादव, ७० केजीमा सुरेश चुनारा, ७९ केजीमा बुनीलाल यादव, ८६ केजीमा सागर यादव, ९२ मा समिर साह र १२५ केजी तौल समूहमा राज यादवले प्रतिस्पर्धा गर्नेछन् । समिर, सुरेश, बुनीलाल र सरोज अनुभवी खेलाडी हुन् ।


महिलातर्फ ५० केजीमा मनीषा सिंह, ५३ केजीमा सिवांगी दुवे, ५५ केजीमा संगीता धामी, ५७ केजीमा अम्बिका भण्डारी, ५९ केजीमा कोमल खत्री, ६२ केजीमा सुशीला चन्द र ६८ केजीमा निर्मला जागरी भिड्नेछन् ।


पुरुष खेलाडीले चौथो साफबाट सहभागिता जनाए पनि महिला प्रतिनिधित्व भने १२ औं सागमात्र भएको थियो । ‘अघिल्लो सागको सहभागिताले पनि होला । कुस्तीतर्फ महिलाको आकर्षण बढेको छ,’ प्रशिक्षक राजेन्द्र चन्दले भने, ‘पुरुषसरह उनीहरू पनि अखडामा भिडिरहेका छन् ।’


नेपालको तर्फबाट साग खेलिसकेका प्रशिक्षक चन्दका अनुसार ७ महिला खेलाडीमध्ये ६ जना एउटै जिल्ला कञ्चनपुरका छन् । ६२ केजीकी सुशीला चन्द भने बाँकेकी हुन् । उनी घरेलु प्रतियोगिता आर्मीको टिमबाट खेल्छिन् । उनले चीनमा भएको ‘आर्मी ओलम्पिक’ मा भाग लिइसकेकी छन् । त्यहाँ उनले पाचौं स्थान ओगटेकी थिइन् । अन्य ६ जना नयाँ अनुहार हुन् । उनीहरूलाई पनि सहभागिताको पहिलो वर्षमै प्रमाणित गर्ने मौका जुरेको छ ।

प्रकाशित : मंसिर १४, २०७६ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?