२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

ओलम्पिक छनोटको मान्यता खोसियो

राजु घिसिङ

काठमाडौँ — भुटानले खेलाडी दर्ता प्रक्रियामा डोपिङ परीक्षणको नियम पालन नगरेपछि १३ औं दक्षिण एसिायली खेलकुद (साग) मा भारोत्तोलनले टोकियो ओलम्पिक–२०२० छनोट प्रतियोगिताको रूपमा पाएको मान्यता गुमाएको छ ।

ओलम्पिक छनोटको मान्यता खोसियो

नेपाल भारोत्तोलन संघको पहलमा १३ औं सागले ओलम्पिक छनोटको मान्यता चार महिनाअघि पाएको उल्लेख गर्दै संघका महासचिव पार्थ सारथि सेन गुप्तले शुक्रबार भने, ‘ओलम्पिक छनोटमा डोपिङ टेस्टको लागि प्रतियोगिताको तीन महिनाअघि नै एन्टी डोपिङ म्यानेजमेन्ट सिस्टममा खेलाडी दर्ता गर्नुपर्छ । खेलाडी कहाँ छन्, के कस्तो अवस्थामा के गरिरहेका छन् भन्ने जानकारी दुई महिनाअघि गर्नुपर्छ । यी सबै प्रक्रिया ५ देशले पूरा गरे । पछि भुटानले पनि खेलाडी पठाउने भयो । उसलाई समावेश गर्दा सागले ओलम्पिक छनोटको मान्यता गुमाएको हो ।’


घरेलु टिम नेपाल, दक्षिण एसियामा बलियो मानिएको भारतसहित श्रीलंका, पाकिस्तान र बंगलादेशले अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघ (आईडब्लूएफ) को तीन महिने प्रक्रियाभित्रै यो सागका लागि खेलाडी दर्ता गरिसकेका थिए । ‘सागको भारोत्तोलनमा भुटानले पहिलोपल्ट खेलाडी पठाउँदै छ भन्ने जानकारी थिएन,’ एसियाली भारोत्तोलन महासंघ (एडब्लूएफ) को प्राविधिक समितिका सचिवसमेत रहेका सेन गुप्तले भने, ‘आईडब्लूएफको नियम पालना गर्दा भुटानी खेलाडीले १३ औं सागमा खेल्नै नपाउने भयो । नयाँ टिमले खेल्नै पाएन भने राम्रो हुँदैन भन्ने लाग्यो । त्यसैले आईडब्लूएफसँग छलफल गरेरै भारोत्तोलनको ओलम्पिक छनोटको रूपमा साग आयोजना नगर्नेमा पुगेका हौं ।’


आईडब्लूएफको सदस्यता समितिमासमेत रहेका उनले भने, ‘सागको आयोजक दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को नियमानुसार खेलाडी दर्ता एक महिनाअघिमात्रै हुन्छ । ओलम्पिक छनोटको लागि आईडब्लूएफको खेलाडी दर्ताको नियमलाई हामी सागमा लागू गर्न सक्दैन थियौं । सागजस्ता बृहत् खेलकुदको आफ्नै नियम र परम्परा हुन्छ, जुन आईडब्लूएफसँग मिल्दो भएन । त्यसैले पनि ओलम्पिक छनोटको मान्यताबाट हट्नु नै ठीक लाग्यो ।’ १३ औं सागमा खेल र खेलाडीसंख्या दर्ताको अन्तिम मिति १० अक्टोबर तोकिएको थियो भने खेलाडीको नाम दर्ताको सीमा नोभेम्बर २० । जबकि साग डिसेम्बर १ (आइतबार) सुरु हुँदै छ । त्यसैले ओलम्पिक छनोटको लागि सागमा खेलाडीको दर्ता प्रक्रिया नै मिलेन ।


संघका महासचिव सेन गुप्तले डोपिङ परीक्षणबारे भने, ‘सागमा क्षेत्रीय डोपिङ (राडा) ले पनि हेर्छ । डोपिङको लागि प्रक्रिया पुगकै थियो । हामी तयार थियौं । खेलाडी दर्ताकै प्रक्रिया पूरा नहुने भएपछि हामीले ओलम्पिक छनोटको मान्यता छाडेका हौं ।’ उनले थपे, ‘हाम्रो खेलाडी ओलम्पिकमा छनोट हुने सम्भावना धेरै टाढा छ । तर, नेपालमा पहिलोपल्ट ओलम्पिक छनोट आयोजना गर्ने अवसर भने गुमाएका छौं ।’ टोकियो ओलम्पिकमा खेलाडीले १८ महिनाको अवधिमा ६ प्रतियोगितामा गरेको प्रदर्शनको आधारमा छनोट हुने प्रक्रिया छ । त्यसमध्ये उत्कृष्ट चार नतिजा निर्णायक मानिन्छ ।


सागले ओलम्पिक छनोटको मान्यता गुमाएसँगै यसको प्रत्यक्ष असर भारतीय टिमलाई परेको छ । जेरेमी लालरिन्नुगा गत वर्ष युथ ओलम्पिक (ब्यनर्स आयर्स) मा स्वर्णपदक जित्ने पहिलो भारतीय खेलाडी बनेका थिए । एसियन भारोत्तोलन च्याम्पियनसिपमा रजत जितेका १७ वर्षे उनीसँगै साइखोम मिराबाई चानुलाई १३ औं सागमा नपठाउने निर्णय भारतीय भारोत्तोलन महासंघ (आईडब्लूएलएफ) ले गर्‍यो । विश्व भारोत्तोलन च्याम्पियनसिप २०१७ र कमनवेल्थ गेम्स २०१८ मा स्वर्ण जितेकी २५ वर्षीया चानु सिलोङमा भएको १२ औं साग २०१६ मा ४८ केजी स्पर्धामा पनि स्वर्ण कब्जा गरेकी थिइन् । चानु र जेरेमीलाई सागको टिमबाट हटाएर दोहामा डिसेम्बर १९ देखि हुने ओलम्पिक छनोटअन्तर्गत इन्टरनेसनल कपमा पठाउने उल्लेख गर्दै ओलम्पिक च्यानलले भारतले जुनियर खेलाडीलाई नेपाल पठाउन लागेको जनाएको छ ।


सागमा भारोत्तोलनको प्रतिस्पर्धा डिसेम्बर ७ देखि ८ सम्म पोखरास्थित एफआरके बैंक्केट हलमा हुँदै छ । यसमा पुरुष र महिलाका १०–१० स्पर्धा समावेश गरिएको छ । त्यसमध्ये एक देशले ७–७ स्पर्धामा सहभागी हुन पाउँछ । १५ स्पर्धा समावेश १२ औं सागमा भारतले १२ तथा श्रीलंका, पाकिस्तान र बंग्लादेशले १–१ स्वर्ण जितेका थिए । त्यसमा नेपालले १ रजत र ३ कांस्य हात पारेको थियो ।


प्रकाशित : मंसिर १४, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?