२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

पदकै पदकमा लक्ष्य स्वर्णको

ध्रुव तुलाधर

काठमाडौँ — दक्षिण एसियाली खेलकुदमा भारोत्तोलन खेलमा नेपालको समृद्ध इतिहास छ । खेलाडीले जितेको पदकसंख्या आधारमा नेपालका लागि यो सफल खेल बनेको छ । १२ औं संस्करणसम्म नेपालले भारोत्तोलनबाट एक स्वर्णसहित १०९ पदक जितेको छ । त्यसमा रजत २३ र ८५ कांस्य पदक समावेश छ ।

पदकै पदकमा लक्ष्य स्वर्णको

पहिलो संस्करणदेखि नै भारोत्तोलन खेलाडीले पदक दिलाएका छन् । सन् १९९३ को ढाका साग (छैटौं) मा यो खेल समावेश थिएन भने ११ औं संस्करणमा नेपाल पदकविहीन भयो । अन्यथा सबै सागमा नेपालले कुनै न कुनै पदक जितेको छ । सातौं सागसम्म निरन्तर खेलेका सुनीललाल जोशीले ७ रजत र ९ कांस्य पदक जितेका छन् । व्यक्तिगत रूपमा भारोत्तोलनका सबैभन्दा सफल खेलाडी हुन् । १२ औं सागमा प्रशिक्षण सम्हालेका उनको दुई वर्षअघि निधन भएको छ ।


यसपालि सागको भारोत्तोलन खेल पोखरामा हुादै छ । नेपालले महिला–पुरुष दुवैतर्फ ७–७ खेलाडी प्रतिस्पर्धामा उतार्दै छ । सुरुमा दुवैको समान १० तौल समूह समावेश गर्ने भनिए पनि अन्तिम समयमा तीनवटा तौल समूह हटाइएको हो ।


क्लोज क्याम्पमा रहेका खेलाडी राजधानीमै प्रशिक्षण गरिरहेका छन् । दुई टिममा रहेर क्याम्पमा रहेका खेलाडीले वैदेशिक प्रशिक्षण पनि लिए । सिनियर खेलाडी दक्षिण कोरियामा १० दिने प्रशिक्षणमा रहँदा जुनियर उज्वेकिस्तानको तास्कन्दमा तीन साताको प्रशिक्षण लिएर फर्किएका छन् ।


पछिल्लो संस्करण गुवाहाटीको प्लेटफर्ममा नेपाली खेलाडीले १ रजत र तीन कांस्य जितेका थिए । विकास श्रेष्ठले रजत जिते । अरु पदक महिला खेलाडीको नाममा थियो । जुन साग खेलकुद इतिहासमा महिला भारोत्तोलन पहिलोपल्ट प्रवेश गराइएको थियो । त्यसमा देवी चौधरी, तारादेवी पुन, जुनुमाया छन्त्यालले कांस्य दिलाएका थिए ।


भारोत्तोलनको पदक इतिहास

पहिलो साफ, १९८४ काठमाडौं

रजत पदक–४ (जगदीश प्रधान, अशोक कार्की, सुरेन्द्र हमाल, सुनीललाल जोशी)

कांस्य पदक–३ (ज्योति पौडेल, मदन शिवभक्ति, समसुद्दिन सिद्दिकी)

दोस्रो साफ, १९८५, ढाका

रजत पदक–६ (मदन शिवभक्ति–२, सुरेन्द्र हमाल–२, समसुद्दिन सिद्दिकी–२)

कांस्य पदक– १२ (सुवोध श्रेष्ठ–२, अशोक शाही–३, सुनीललाल जोशी–३, जगदीश प्रधान–३, अशोक कार्की–१)

तेस्रो साफ, कोलकाता १९८७

कांस्य पदक– १९ (भरत साउद–३, जगदीश प्रधान–३, अशोक कार्की–३, सुनीललाल जोशी–३, कनक चौधरी–३, मदन शिवभक्ति–१)

चौथो साफ, इस्लामावाद १९८९

रजत पदक–६ (समसुद्दिन सिद्दिकी–३, जगदीश प्रधान–२, अशोक कार्की–१)

कांस्य पदक–२२ (सुरेन्द्र हमाल–३, ज्योति पौडेल–३, रामकुमार श्रेष्ठ–३, सुनीललाल जोशी–३, मदन शिवभक्ति–३, जगदीश प्रधान–१, अशोक शाही–२, सन्जय महर्जन–३, भरत साउद–१)

पाँचौं साफ, कोलम्बो १९९१

रजत पदक–३ (सुनीललाल जोशी–३)

कांस्य पदक–१९ (ज्योति पौडेल–३, सन्जय महर्जन–३, जीवन गौतम–३, सुरेन्द्र हमाल–३, समसुद्दिन सिद्दिकी–३, अशोक शाही–३, भरत साउद–१, जगदीश प्रधान–१)

छैटौं साफ, ढाका १९९३

भारोत्तोलन समावेश नभएको ।

सातौं साफ, मद्रास १९९५

रजत पदक (रोशन नकर्मी,

सुनीललाल जोशी)

कांस्य पदक– ३ (राकेश रन्जित, अशोक शाही र रामकुमार श्रेष्ठ)

आठौं साफ, काठमाडौं १९९९

कांस्य पदक–३ (राकेश रन्जित, रोशन नकर्मी, मदन शिवभक्ति)

नवौं साग, इस्लामाबाद २००४

कांस्य पदक–१ (ज्ञानबहादुर श्रेष्ठ)

दसौं साग, कोलम्बो २००६

स्वर्ण–१ (कमलबहादुर अधिकारी)

एघारौं साग, ढाका २०१०

पदकविहीन

बाह्रौं साग, गुवाहाटी/सिलोङ, २०१६

रजत पदक–१ (विकास थापा)

कांस्य पदक–३ (देवी चौधरी, तारादेवी पुन, जुनीमाया छन्त्याल)


घरेलु भूमिमा भएकाले यसपालि सबै खेलाडी उत्साही छन् । आफूले उचालिरहेको भारभन्दा अलि बढी उचाल्न सक्छु भन्ने हिम्मत देखाइरहेका छन् । किनकि खेलाडीलाई आफ्नो भूमिमा त्यो हिम्मत आउँछ भन्ने विश्वास छ ।


उमेरले ४३ छोइसकेका कमलबहादुर अधिकारी पनि त्यसै भन्छन् । उनी तिनै हुन्, जो एक्लो स्वर्णको हकदार छन् । १० औं कोलम्बो सागमा उनले जितेको स्वर्ण भारोत्तोलनको गौरवशाली इतिहास हो ।


१३ औं संस्करण नेपालमा हुने भएकाले उनले यो अवसर गुमाउन चाहेनन् । इन्ज्युड (घुँडा र कुहिनामा दुखाइ) भए पनि घरेलु भूमिमा साग खेल्ने आाट कसेका छन् । ‘आफ्नै देशमा खेल्न पाउने भएकाले पनि यो पीडा भुलिरहेको छु । सक्दो प्रदर्शन दिनेछु,’ उनै स्वर्णधारी कमलले भने । नेपाली भारोत्तोलनका सफल खेलाडी कमल चौथोपल्ट साग खेल्दैछन् । नवौंमा डेब्यु गरे । दसौंमा स्वर्ण जिते । त्यसपछि ११ औं संस्करण खेले । पछिल्लोपल्ट उनी मिसन (शान्तिसेना) गएकाले टिममा थिएनन् ।


‘अन्तर्राष्ट्रिय करिअरको अन्ततिर छु । त्यसैले यो सागमा मलाई राम्रो प्रदर्शन गर्ने अवसर पनि छ । चुनौती त्यत्तिकै छ । यसलाई उपयोग गर्ने अठोट छ । कुनै न पदक जित्नेछु,’ संन्यासको संघारमा रहेका कमलबहादुरले भने । ओलम्पिकसहित चार एसियाड खेल्ने उनी एक्लो नेपाली भारोत्तोलक हुन् । सागमा नेपाली भारोत्तोलनको मुख्य चुनौती भारत, पाकिस्तान, श्रीलंका नै हो । पछिल्लो चार संस्करणमा अफगानिस्तान पनि थियो । माल्दिभ्सले अहिलेसम्म भारोत्तोलनमा सहभागिता जनाएको छैन । यसपालि भुटानले पहिलोपल्ट भाग लिँदै छ । भुटानका एक महिलासहित चार खेलाडीले नाम दर्ता गराएका छन् ।


प्रि–इन्ट्रीको आधारमा हेर्दा महिला र पुरुष दुवैतर्फ नेपाली खेलाडीहरूको रजत पदकसम्म जित्ने सम्भावना रहेको प्रशिक्षक सञ्जय महर्जन बताउँछन् । उनले भने, ‘हाम्रा खेलाडीको पनि तयारी राम्रो छ । वैदेशिक प्रशिक्षण पनि लिएका छौं । यसले खेलाडीको मनोबल बढेको छ । पदकको राम्रो सम्भावना छ ।’


नेपालले अघिल्लो वर्ष एसियन जुनियर भारोत्तोलन च्याम्पियनसिप सफलतापूर्वक आयोजना गरिसकेको छ । त्यसले गर्दा विगतमा जस्तो खेलाडीलाई ट्रेनिङ सामग्रीको चरम अभाव भएन । ट्रेनिङमा त्यसकै भरथेग भयो । तर यो खेलमा ट्रेनिङले मात्र गरेर मात्र पुग्दैन । खेलाडीलाई पर्याप्त न्युट्रिसन (पोषण) चाहिन्छ । दैनिक १५ सय रुपैयाँ जतिको आवश्यक खुराक खानुपर्ने हुन्छ । नेपाली खेलाडीका लागि त्यो अभाव छ । त्यो वर्षभर हैन, क्याम्पमा रहेका बेलामात्र पाउँछन् उनीहरूले । यहाँ न्युट्रिसन र मेडिकल्ली रिसर्चको पक्षमा कमजोर रहेकाले पनि भारोत्तोलनले सोचेजस्तो सफल पाउन नसकेको पूर्व मुख्य प्रशिक्षक रहिसकेका पार्थ सारथि सेन गुप्त बताउँछन् । उनी भन्छन्, ‘सार्क राष्ट्रकै अन्यका देशमा सिनियर, जुयिनर, सवजुनियर गरेर खेलाडीलाई तहगत प्रशिक्षणमा राखिएको हुन्छ । मेडिकल्ली रिसर्च गरेर उनीहरूलाई न्युट्रिसन दिइन्छ । के खान हुन के नहुने । पूर्ण चिकित्सकीय निगरानीमा गरिन्छ । तर नेपालमा त्यो छैन । हामी त्यसमै मार खाएका छौं । त्यसप्रति लगानी नै छैन भन्दा हुन्छ ।’


त्यति बेला ल्याइएका र अहिले आएका नयाँ सामग्री मिलाएर प्रतियोगिता सञ्चालन गरिने नेपाल भारोत्तोलन संघका महासचिव पार्थ सारथी बताउँछन् ।


प्रकाशित : मंसिर १३, २०७६ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?