३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

तयारी सकियो, ग्रान्ड रिहर्सल आज

कुशल तिमल्सिना

काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी अन्तिम चरणमा पुगेको छ । साग कार्यकारी समितिका संयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य–सचिव रमेशकुमार सिलवालले खेल सञ्चालन र व्यवस्थापनको तयारी पूरा भएको जानकारी दिएका छन् । 

तयारी सकियो, ग्रान्ड रिहर्सल आज

मंसिर १५ देखि २४ सम्म काठमाडौं, पोखरा र जनकपुर सहरमा हुने सागका खेल बुधबार नै सुरु भइसकेको छ । तर उद्घाटन र समापनसहित मुख्य खेलस्थल दशरथ रंगशाला, सातदोबाटोस्थित पौडी पोखरी र कीर्तिपुर कभर्डहलको काम सम्पन्न भइसकेका छैनन् । शुक्रबारसम्म सबै तयारी पूरा हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा सदस्य–सचिव सिलवालले जानकारी दिए ।


‘सबैको चासो प्रतियोगिता सुरु हुँदासम्म पनि पूर्वाधार तयार हुन्छन् त भन्ने थियो,’ सिलवालले भने, ‘अब धन्न तयार भयो भन्नुस्, दशरथ रंगशाला र पौडीपोखरीको काम भोलिसम्म सम्पन्न हुनेछ । पोखरीमा पानी हालेर १४ गतेदेखि नेपाली टोलीले प्रशिक्षण गर्नेछ ।’


सदस्यसचिवका अनुसार सबै खेल सामग्री सम्बन्धित खेलस्थलमा पुगिसकेको छ । पोखरा रंगशालाको निर्माण सम्पन्न भइरहेकोमा उनले खुसी व्यक्त गरे । ‘हाम्रो अर्को चिन्ता पोखरा रंगशालामा थियो । तर त्यहाँ हामीले १० हजार दर्शक क्षमताको प्यारापिट जोड्ने भनेका थियौं, तर १३ हजार कुर्ची जडान भइसकेको छ । हाम्रो महिला टोलीले हिजोदेखि प्रशिक्षण सुरु गरिसकेका छन्, त्यसैले मैदानको पनि प्रश्न रहेन ।’ सागका लागि सुरक्षा, खेलस्थल व्यवस्थापन, यातायातलगायत आवश्यक सबै प्रबन्ध गरिसकिएको जानकारी सदस्य–सचिवले दिएका छन् । उद्घाटन समारोहको ‘ग्रान्ड रिहर्सल’ शुक्रबार हुँदै छ ।


खेलस्थलमा विशेष सुरक्षा

१३ औं दक्षिण एसियाली खेलकुदका लागि तीन सहरमा १८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिनेछ । १३ औं साग सुरक्षा समितिका संयोजकसमेत रहेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सुरक्षाको प्रत्याभूतिका लागि आवश्यक परेमा थप सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिने जनाए । ‘हामीले दुवै प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागको समन्वयमा सुरक्षा योजना तयार पारेका छौं,’ पत्रकार सम्मेलनमा उनले भने, ‘खेल मैदानभित्र र मैदानबाहिर खेलाडी अफिसियल र भीआईपी/भीभीआईपीको सुरक्षा हाम्रो मुख्य चासो हुनेछ ।’


प्रहरीले सुरक्षा योजनालाई वर्गीकरण पनि गरिसकेको छ । भीभीआईपी सुरक्षा, खेलाडी तथा अफिसियलको सुरक्षा, विमानस्थल र होटल (निवास) सुरक्षा, सपिङ मल, मनोरञ्जन भ्रमणका क्रममा हुने सुरक्षा, समारोह तथा खेलस्थलको सुरक्षा, कारकेट तथा मोटरकेट स्कर्टिङ, सवारी मार्गको सुरक्षा र पार्किङ व्यवस्थापनलगायतका योजना बनिसकेको महानिरीक्षक खनालले बताए । सेलिब्रेटी छवि भएका खेलाडीको सुरक्षा तथा मैदानभित्र हुनसक्ने सुरक्षा खतराबारे सम्बन्धित खेलका अफिसियलसँगको समन्वयमा सुरक्षा योजना पनि तर्जुमा गरिएको छ ।


प्रतियोगिताका क्रममा हुने मुख्य चुनौती रूपमा रहेको पार्किङ व्यवस्थापनका र ट्राफिक व्यवस्थापनको योजना तर्जुमा भइसकेको छ । सागमा भारत र पाकिस्तानका खेलाडी, अफिसियल र भीआईपी पाहुनाको उपस्थिति हुने भएकाले त्यसबारे निम्तन सक्ने सुरक्षा चुनौतीबारे पनि सुरक्षा निकाय चनाखो रहेको आईजीपी खनालले जानकारी दिए । ‘ठूलो सुरक्षा चुनौती छैन । खेलाडी र अफिसियलका लागि हामीले आवश्यक सुरक्षा प्रबन्ध मिलाउने छौं,’ उनले भने ।


प्रहरी संगठनको प्रमुख नै खेलकुद प्रतियोगिताको सुरक्षा समिति प्रमुखको जिम्मेवारीमा रहनु कत्तिको सुरक्षा संवेदनशील हो भन्ने आरोपप्रति आईजीपीले खण्डन गरे । यसक्रममा हुनसक्ने दुर्घटनाको जिम्मेवारी आफैंले लिने उनको उद्घोष छ । ‘खेलस्थलको सुरक्षा तथा यसबारे जानकार भएको नाताले मलाई उचित लाग्यो । सन् १९९९ को साफमा पनि म रंगशालाको फिल्ड कमान्डर थिएँ,’ उनले थपे, ‘गृहमन्त्रीज्यू सागको उच्चस्तरीय निर्देशन समितिमा हुनुहुन्छ । उहाँमातहतको समितिमा बसेर मैले पदीय हिसाबमा कुनै कमजोरी गरेको छैन । समिति संयोजकको नाताले सागका क्रममा हुने सबै सुरक्षा चुनौती र योजनाको जिम्मेवार म नै हुन्छु ।’


मंसिर १५ आइतबार उद्घाटन र मंसिर २४ मंगलबार समापनको दिन चक्रपथभित्र जोर–बिजोर प्रणालीमा यातायात चलाइने आईजीपी खनालले जानकारी दिए । प्रहरीले दशरथ रंगशालामा यातायातको चाप कम गर्न सागभर एकतर्फी यातायात चलाउने योजना बनाइरहेको छ । यो चाहिँ आवश्यक पर्दाको समयमा मात्र लागू हुनेछ । रंगशालामा नेपालको खेल भएका दिन यो योजना लागू हुनसक्छ । जसमा सहिदगेटबाट त्रिपुरेश्वर हुँदै जाने सवारी एकतर्फी हुनेछ । टेकुबाट त्रिपुरेश्वर हुँदै सुन्धारा जान पाइने छैन । सुन्धारा जाने सवारीले थापाथली हुँदै भद्रकालीको बाटो प्रयोग गर्नुपर्नेछ । साग अवधिभर त्रिपुरेश्वरेको राष्ट्रिय खेलकुद परिषद र दशरथ रंगशालामा आउनेका लागि टुँडिखेलमा पार्किङको व्यवस्था गरिएको आईजीपी खनालले जानकारी दिए । काठमाडौं मलअगाडिको गेटमार्फत टुँडिखेलमा पार्किङ गर्नुपर्नेछ ।


चार खेल हेर्न टिकट

सागमा समावेश काठमाडौंमा हुने ४ खेलको प्रतिस्पर्धा हेर्न दर्शकले टिकट लिनुपर्ने भएको छ । दशरथ रंगशालामा हुने पुरुष फुटबल, त्रिपुरेश्वरस्थ्ति कभर्डहलमा हुने भलिबल (महिला र पुरुष) र बास्केटबल तथा त्रिवि क्रिकेट मैदानमा हुने पुरुष क्रिकेटका खेलका लागि टिकट लिनुपर्ने हुन्छ ।


राखेपले त्यसका लागि ई–सेवासँग सहकार्य गरेको छ । त्रिवि मैदानमा भने ईसेवा र नेपालयबीच सहकार्य छ । पुरुष फुटबलका समूह चरणका खेलमा साधारण प्यारापिटतर्फ ५ सय र भीआईपी प्यारापिटतर्फ १ हजार टिकट शुल्क निर्धारण गरिएको छ । सेमिफाइनल र फाइनलका लागि साधारणतर्फ १ हजार र भीआईपीतर्फ २ हजार शुल्क हुनेछ । भलिबल र बास्केटबलका लागि ५ सय टिकट शुल्क निर्धारण गरिएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालको खेल हुँदा ५ सय र अन्य खेलका २ सय रुफैयाँ टिकट शुल्क निर्धारण गरिएको छ । १५ हजार ९ सय दर्शक क्षमता रहेको दशरथ रंगशालामा १४ हजार टिकट विबी गरिने सदस्यसचिव सिलवालले बताए । टिकट शुल्कबाट संकलित रकमको १५ प्रतिशत ईसेवाले कमिसन पाउनेछ । कमिसनमध्ये आधा उसैले राख्नेछ भने आधा खेलकुदको पूर्वाधार विकासमा भएका कामका लागि अनुदान प्रदान गर्ने सहमति भएको छ ।


भूकम्पले क्षति पुर्‍याएको दशरथ रंगशाला पुनर्निर्माणपछि पहिलोपल्ट ठूलो प्रतियोगिताको आयोजना हुँदै छ । यसपल्ट रंगशालामा पहिलोपल्ट कुर्ची जडान गरिएको छ भने कुर्चीमा नम्बर उल्लेख गरिएको छ । ईसेवाका सीईओ रोशन लामिछानेका अनुसार टिकटमै कुर्सीको नम्बर उल्लेख गरिएको हुनेछ । उनले टिकटमा उल्लेख भएकै सिट नम्बरमा बसिदिन पनि सबैमा अनुरोध गरेका छन् । रंगशालामा फुटबल हेर्न जाँदा टिकटसँगै फोटोसहितको परिचयपत्र पनि बोक्नुपर्नेछ । टिकटमा नाम उल्लेखित व्यक्तिले मात्र रंगशाला प्रवेश पाउने उनले बताए । ‘टिकटमा कालोबजारी र नक्कली दर्शकलाई निरुत्साहित गर्न हामीले त्यसो गरेका हौं,’ पत्रकार सम्मेलनमा उनले भने ।

प्रकाशित : मंसिर १३, २०७६ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?