१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

मोदीलाई स्वागत गर्नुअघि

सम्पादकीय

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणबाट फर्किएको ठ्याक्कै एक महिना तीन दिनपछि उनका समकक्षी नरेन्द्र मोदी तीनदिने राजकीय भ्रमणका लागि नेपाल आउने भएका छन् । दुई छिमेकी मुलुकबीचको अन्योन्य सम्बन्धका लागि यस्तो उच्चस्तरीय भ्रमण आवश्यक हुन्छ ।

मोदीलाई स्वागत गर्नुअघि

तर, यत्तिकैमा यस्ता आदानप्रदान फलदायी भइहाल्छन् भन्ने हुँदैन । यसलाई उपलब्धिमूलक बनाउन नेपालले राष्ट्रिय हितका सवालहरूलाई आफ्नो कार्यसूचीमा समेटी भारतसमक्ष बलियो रूपमा प्रस्तुत गर्न सक्नुपर्छ । नत्र यस्ता भ्रमण केवल सनातनी शृंखलामा मात्र सीमित रहन्छन्, त्यसैले नेपालले यसतर्फ आवश्यक गृहकार्य गर्न जरुरी छ ।


मोदीको भ्रमण हुन अब तीन साता पनि बाँकी छैन । अहिलेसम्म भारतसँग छलफल या सम्झौता हुन सक्ने नयाँ विषय सार्वजनिक भइसकेका छैनन् । भारतीय प्रधानमन्त्री मोदीले नेपालका लागि कुनै न कुनै सहयोगको घोषणा भने गर्लान् नै । नेपालको जोडचाहिँ भ्रमणलाई हाम्रो राष्ट्रिय हितको दृष्टिकोणले कसरी बढीभन्दा बढी लाभ लिन सकिन्छ भन्नेमा केन्द्रित हुनुपर्छ । त्यसका लागि नेपालले तयारी गर्नुपर्ने दुइटा विषय छन्— पहिलो, ओली भ्रमणमा छुटेका कार्यसूचीलाई प्राथमिकताका साथ उठाउने र दोस्रो, आतिथेय मुलुकको हैसियतले मोदी भ्रमणका कार्यक्रमहरू हाम्रा आफ्नै राष्ट्रिय हितलाई हेरेर तय गर्ने ।


प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा जलमार्ग मार्फत नेपालको समुद्रसँगको पहुँच, रक्सौल–काठमाडौं रेलमार्ग निर्माण र नेपालको कृषिमा आधुनिकीकरण भारतीय सहयोगको घोषणा भएको थियो । भ्रमणमा जानुअघि ओलीले नयाँ सम्झौताको चाङ लगाउनेभन्दा पुराना सम्झौता कार्यान्वयनमा जोड दिइने बताएका थिए । त्यसैअनुरूप नेपालस्थित द्विपक्षीय परियोजनाहरूलाई तीव्रता दिन भारत सहमत पनि भयो र यस विषयलाई दुई मुलुकको संयुक्त वक्तव्यमा पनि पारियो । अब त्यसै थाती रहेका ती परियोजनाहरूमा समयसीमै तोकेर अघि बढ्न जरुरी छ । अनि, त्यतिबेला छुटेका कैयौं सवाललाई मोदी भ्रमणका दौरान नेपालले प्राथमिकताका साथ उठाउन आवश्यक छ ।


सीमाञ्चल क्षेत्रमा सुरक्षा सवालदेखि लिएर बाढी र डुबानका समस्या छन्, जसमा हामीलाई भारतको सहयोग मात्र होइन न्यायोचित व्यवहारको पनि खाँचो छ, यस विषयलाई नेपालले ठोस रूपमा उठाउन जरुरी छ । नेपालको आन्तरिक विषय मधेस मामिलामा अनावश्यक बोलेको भारत मधेसी जनताले नै भोगिरहेको दु:खको न कारक बन्न मिल्छ न यसप्रति ऊ निरपेक्ष नै बस्न सुहाउँछ । बर्सेनि बल्झिरहने यस्ता समस्याप्रति दुवै मुलुकले उपयुक्त कदम चाल्नुपर्छ । देख्दा सानो देखिने तर दुई मुलुकको हार्दिकतामा ठेस पुर्‍याउन सक्ने अरू केही त्यस्ता विषय छन् जसलाई पनि भारतले सम्बोधन गर्नुपर्छ– नेपाली व्यापारीका ग्यास बुलेटलाई भारततर्फ अवरोध गरिएको छ भने यताका कृषिउपजलाई पनि समयसमयमा विभिन्न बहानामा बन्देज लगाइएको छ । भारतसँगको सम्बन्धमा नेपालको सबैभन्दा ठूलो चुनौती नै बढ्दो व्यापार घाटा हो । यसलाई घटाउन नेपालले निर्यात बढाउनुपर्ने हुन्छ । तर, बेलाबेलामा देखिने भारतीय व्यवहारले नेपालका कृषि उद्यमीहरूलाई हतोत्साही बनाउने गरेको छ । त्यसैले यस्ता समस्या भविष्यमा नदोहोरिऊन् भनेर नेपालले भारतको प्रतिबद्धता खोज्नुपर्छ । भारतद्वारा ओली भ्रमणमा घोषित जलमार्ग तत्काल सञ्चालनमा आउन सम्भव छैन, तर हामीलाई तेस्रो मुलुकबाट भारतीय बन्दरगाह हुँदै आयात हुने सामग्रीका लागि विशेष मार्गको तत्काल खाँचो छ । यसमा नेपाली पक्षले भारतलाई मनाउन सक्नुपर्छ । यस्तै, नेपालमा नोटबन्दीको मारमा परेर रहेका रकम अझै साटिएका छैनन्, भारु सटहीमा पनि उस्तै समस्या छ, यसको पनि निकास खोजिनुपर्छ ।


मोदीको तीनदिने नेपाल बसाइँमा हुने राजनीतिक भेटघाट र कार्यक्रमको विस्तृत विवरण बाहिर आइसकेको छैन । यहाँनेर नेपाल सरकारले ध्यान पुर्‍याउनुपर्छ— मोदीको भेटघाटको सूची र कार्यक्रमहरू हाम्रो प्राथमिकताका आधारमा तय गरिनुपर्छ । एउटा आतिथेय मुलुकले आफ्नो अतिथिको सम्मान गर्न कुनै कन्जुस्याइँ गर्नु हुँदैन तर उनका कार्यक्रमहरू हाम्रो राष्ट्रिय लाभलाई हेरेर मात्र केन्द्रित गर्न पनि चुक्नु हुँदैन । र, ती कार्यक्रम अनावश्यक विवाद निम्तिने खालका नहोऊन् भन्नेतर्फ पनि नेपाली पक्ष सजग रहनुपर्छ । कार्यकाल सम्हालेयता मोदी तेस्रो पटक नेपाल आउँदै छन् । पहिलो भ्रमणमा उनको तारिफ भएको थियो भने दोस्रो पटक आलोचना । विश्व नेताका रूपमा उदाइरहेका मोदीलाई थाहा छ, यहाँ उनको तारिफ किन भयो, अनि किन आलोचना गरियो । अब आस गरौं, तेस्रो भ्रमणमा यी कूटनीतिक नेताले फेरि तारिफ नै बटुल्नेछन् ।

प्रकाशित : वैशाख १२, २०७५ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?