२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

पुलचोक घट्नामा संलग्‍नलाई सार्वजनिक मुद्दा

प्रशान्त माली

काठमाडौँ — रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपको सिलसिलामा पक्राउ परेका १४ जनालाई सार्वजनिक शान्तिविरुद्धको कसुरअन्तर्गत मुद्दा चलाइएको छ । पक्राउ परेमध्येका तीन जनालाई आइतबार प्रहरीले छाडेको छ । 

महानगरीय प्रहरी परिसर जावलाखेलका एसएसपी टेकप्रसाद राईले हिरासतमा रहेकाहरूविरुद्ध सार्वजनिक मुद्दाअन्तर्गत ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको बताए । ‘केहीलाई संक्रमण ऐन २०२०, स्थानीय प्रशासन ऐन २०२८ र ज्यान मार्ने उद्योगअन्तर्गत पनि मुद्दा आकर्षित हुन्छ,’ उनले भने ।

तिनलाई भने राजनीतिक दबाबका कारणले छाडेको आरोप स्थानीय प्रशासनमाथि छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले राजनीतिक दबाबका कारणले रिहा नगरिएको दाबी गरे । ‘अन्य व्यक्तिहरूको हकमा पनि कानुनी प्रक्रियाअनुसार अगाडि बढेको छ,’ उनले भने ।

पक्राउ पर्नेहरूमा ललितपुर महानपा–११ का पृथविन्दु महर्जन, अनिल खड्गी, १६ नम्बरका गा:बहालका महेश वज्रचार्य, रवीन शाक्य, २१ नम्बरका असोजकुमार महर्जन, ६ नम्बरका रवि शाक्य, ७ नम्बरका रत्नलाल श्रेष्ठ र २० नम्बरका नरेश शाक्य छन् । महालक्ष्मी नगरपालिका–१ इमाडोलका सुविन शाक्य, ध्रुवराज बज्रचार्य र अनिश महर्जन, भक्तपुरका श्याम था, नीरज वादे र काठमाडौंका यादवलाल कायस्थ छन् ।

इमाडोलका अनिश प्रेस ज्याकेट दुरुपयोग गरेको आरोपमा पक्राउ परेका हुन् भने भक्तपुरका था र वादे सञ्चारकर्मी हुन् । हिरासतमा रहेका भक्तपुरका वादेलाई भने प्रहरीले नराम्रोसँग कुटपिट गरेको उनका वकिल युद्धमान महर्जनले बताए । ‘उनको पैतला र शरीरमा चोट लागेको छ,’ उनले भने, ‘उपचारका लागि अस्पताल पुर्‍याउनुपर्ने अवस्था देखिन्छ ।’

पक्राउ गर्नेमध्ये रवि उपचारका क्रममा पाटन अस्पताल छन् । महानगरीय प्रहरी परिसर जावलाखेलका प्रवक्ता सन्तोष तामाङले भने कुटपिट नभएको दाबी गरे । ‘कुटपिट गरेमा पछि पीडित अदालत गएमा प्रहरीमाथि कारबाही हुन सक्छ,’ उनले भने ।

पक्राउ परेकाहरूलाई नि:सर्त रिहा गर्न मत्स्येन्द्रनाथका पुजारीहरूको संगठन ३२ पानेजु संघ, ज्योतिषी, बाराही, यँवाल, धकुलगायत १९ जातीय खल: ले सामूहिक रूपमा माग गरेका छन् । उनीहरूले विज्ञप्ति जारी गर्दै घटनामा पक्राउ गरिएकाहरूलाई छाड्न र रथ यात्रा व्यवस्थित गर्न अपिल गरेका छन् ।

प्रकाशित : भाद्र २१, २०७७ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?