वर्षमा झन्डै हजार कामदारको मृत्यु

दिनेश रेग्मी

काठमाडौ — वैदेशिक रोजगारका लागि परदेशमा काम गर्न गएकामध्ये १ वर्षमा ९ सय ८९ कामदारले ज्यान गुमाएका छन् ।

मलेसिया     ३४१
साउदी अरब     २९०
कतार     १८९
युएई     ७०
कुवेत     ४०
दक्षिण कोरिया     १९
वैदेशिक रोजगारका लागि परदेशमा काम गर्न गएकामध्ये १ वर्षमा ९ सय ८९  कामदारले ज्यान गुमाएका छन् । सबैभन्दा बढी मलेसिया, त्यसपछि साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स (युएई) र कुवेतमा नेपाली कामदारको मृत्यु भएको छ । मलेसियाबाहेक अरू सबै मध्यपूर्वका खाडी मुलुक हुन् ।
विदेशस्थित नेपाली
दूतावासमा सम्पर्क गरी १६ देशबाट प्राप्त तथ्याङ्कअनुसार सबैभन्दा बढी मलेसियामा २०१३ मा ३ सय ४१ नेपाली कामदारले ज्यान गुमाएका छन् । पछिल्लो आर्थिक वर्षको रेकर्डअनुसार मलेसिया नेपाली कामदारको प्रमुख गन्तव्य मुलुक हो, जहाँ ५ लाखभन्दा बढी कार्यरत छन् । मलेसियामा २०१२ मा २ सय ५२ को मृत्यु भएको थियो ।
साउदी अरबमा २०१३ मा २ सय ९० कामदारको मृत्यु भएको छ । साउदीमा अघिल्लो वर्षभन्दा १३ ले घटेको छ । २०१२ मा ३ सय ३ कामदारको मृत्यु भएको थियो । कतारमा पछिल्लो वर्ष १ सय ८९ र २०१२ मा १ सय ६९ कामदारले ज्यान गुमाएको दूतावासको रेकर्ड छ ।
२०१३ मा
युएईमा ५ महिला र ६५ पुरुषसहित ७० ले ज्यान गुमाएका छन् । कुवेतमा ११ महिलासहित ४० नेपाली कामदारको २०१३ मा मृत्यु भएको छ । नेपाली दूतावास दक्षिण कोरियामा अनुसार त्यहाँ १९ को ज्यान गएको छ । पाकिस्तानस्थित नेपाली दूतावास र त्यसअन्तर्गतका ५ देशमा ११ कामदारको ज्यान गुमेको छ, जसअनुसार इराकमा ७ र अफगानिस्तानमा २ को मृत्यु भएको थियो । टर्कीमा मृत्युको खबर छैन । पाकिस्तान र इरान नेरको पर्सियन खाडीमा एकजनाको मृत्यु भएको थियो ।
बहराइनस्थित दूतावासले २०१३ मा २ महिलासहित १७ नेपाली कामदारको मृत्यु भएको जनाएको छ । ओमनमा पछिल्लो वर्ष ११ नेपालीले ज्यान गुमाएका छन् । एनआरएन ओमनका उपाध्यक्ष योगेन्द्रकुमार श्रेष्ठ (दीपक) का अनुसार ३ महिला र ११ पुरुषको मृत्यु भएको छ । नेपाली दूतावास इजरायल र इजिप्टका अनुसार २०१३ मा त्यहाँ कुनै नेपालीको मृत्युको अपि्रय घटना सुन्न परेन । साइप्रसमा भने एक नेपालीको ज्यान गएको छ ।
तथ्यांक फरक फरक 
तथ्याङ्क व्यवस्थापन साझा संयन्त्र (रिलेसनल डाटाबेस म्यानेजमेन्ट) नहुँदा सरकारी कार्यालयहरूमै मृतकको तथ्याङ्क फरक फरक छ । रेकर्ड पनि कुनै निकायले नेपाली मिति, कुनैले अंग्रेजी मितिअनुसार राख्ने गरेका छन् । भारतस्थित नेपाली दूतावासले मृतक कामदारको रेकर्ड लिने र राख्ने गरेको समेत छैन । परराष्ट्रको कन्सुलर विभागका अनुसार सबैभन्दा बढी २०१३ मा मलेसियामा ३ सय ४१, साउदी अरबमा २ सय ८१ र कतारमा १ सय ९१ को मृत्यु भएको छ । विभागमा अन्य देशमा मृत्यु भएका नेपालीको रेकर्ड छैन । धेरै काम र कम कर्मचारीको कारण व्यवस्थित गर्न नसकेको विभागका कर्मचारीको गुनासो छ । वैदेशिक रोजगार प्रबर्धन बोर्डका अनुसार २०१३ मा ८ सय १४ पुरुष र १६ महिलासहित ८ सय ३० कामदारको मृत्यु भएको छ । यो अघिल्लो वर्षभन्दा १ सय ५८ ले बढी हो । अघिल्लो वर्ष ६ सय ५९ पुरुष र १३ महिलासहित ६ सय ७२ जनाको मृत्यु भएको थियो । 
बोर्डले मृतकका परिवारलाई आर्थिक सहायता प्रदान गरेको आधारमा मृतक कामदारको संख्या निकालेको हो । यसमा बोर्डबाट आर्थिक सहायता नपाउने र भारतमा मृत्यु हुने कामदारको संख्या समावेश छैन । बोर्डका अनुसार एक वर्षमा १५ देशमासबै भन्दा बढी मलेसियामा २ सय ८६, साउदी अरबमा २ सय ३० र कतारमा १ सय ७४ कामदार छन् । 'हामीले मृतक कामदारका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको मितिका आधारमा तथ्याङ्क राखेका हौं,' बोर्डको हकहित शाखाका सहायक नरेश धमेनाले कान्तिपुरलाई भने, 'आर्थिक सहायता नपाउने तथ्याङ्क यसमा समावेश छैन ।'
बोर्डको रेकर्डमा युएईमा ५५, कुवेतमा ३४, बहराइनमा १५, दक्षिण कोरियामा १४, ओमनमा १३, जापान र अफगानिस्तानमा २/२ र जर्मनी, इजरायल, लेबनान, रसिया र श्रीलंकामा १/१ कामदारको मृत्यु भएको छ । २०६४ साउनदेखि हालसम्म विदेशमा ६९ महिलासहित २९ सय ८ कामदारको मृत्यु भएको बोर्डले जनाएको छ । आर्थिक वर्ष २०६९/०७० मा विदेशमा काम गर्ने जाने नेपालीको संख्या साढे ४ लाखभन्दा बढी छ ।
मत्युको कारण हृदयाघात, दुर्घटना
रेकर्डको अभावमा विदेशमा नेपाली कामदारको मृत्यका कारणसमेत राम्ररी खुल्न सकेको छैन । केही दूतावासले राखेको तथ्याङ्कअनुसार हृदयाघात, सवारी तथा कार्यस्थल दुर्घटना र आत्महत्या मृत्युको प्रमुख कारण बनेको छ ।
'सुतेको सुत्यै (हृदयाघात) र सडक दुर्घटनाको कारणले यहाँ (साउदीमा) मृत्यु हुनेको संख्या बढी छ,' रिसायस्थित राजदूत उदयराज पाण्डेले भने, 'स्वास्थ्यसम्बन्धी ज्ञान र बाटो काट्नेबारे पहिल्यै सिकाएर नपठाउने हो भने यो समस्या घट्न
सक्दैन ।' मलेसिया, खाडी, कोरियामा मृत्युका कारण लगभग उस्तै छन् । 'कुवेतमा पुरुषमा हृदयाघात, दुर्घटना र महिलामा आत्महत्या, बिरामी र हृदयाघात बढी मृत्युको कारण बनेका देखिन्छ,' राजदूत मधुवन पौडेलले भने । नेपाली दूतावास, सिओलका अनुसार २०१३ मा मृत्यु भएका १९ नेपालीमध्ये अज्ञात (सम्भवतः हृदयाघात) ले ८, दुर्घटनाले ५, आत्महत्या ४ र प्राकृतिक मृत्यु (नेचुरल डेथ) ले २ जनाको ज्यान गएको छ ।
मृत्युको लाइनमा बसेजस्तै छ ः डा. शाक्य
विदेशमा नेपालीको मृत्युबारे कसैले चासो नदिंदा कामदारहरू मृत्युको लाइनमा पालो कुरेको जस्तै स्थितिमा भएको खाडीमा कार्यरत एक चिकित्सकले चिन्ता व्यक्त गरेका  छन् । कतारमा साढे ४ वर्षदेखि कार्यरत डा. नरेन्द्रकुमार शाक्यले सरकार, म्यानपावर, कामदार संवेदनशील हुन सकेका छैनन्, यो स्थिति रहे नेपालीको मृत्यु अरू भयावह हुने बताउँछन् । उनले दुर्घटना र आत्महत्यालाई छाडेर ९९. ९ प्रतिशत मृत्युको कारण हृदयाघात, उच्च रक्तचापजस्ता मटुजन्य समस्याले हुने गरेको जनाउँदै रोकथामका लागि तत्कालदेखि लाग्नुपर्नेमा जोड दिन्छन् । 'मृत्युको लाइनमा बसेजस्तै छ, भोलि को मर्छ थाहा छैन,' डा. शाक्यले भने, 'सरकारले चेकअप नै नगरी बिरामी हुनेलाई किन मर्न पठाउँछ ?' शाक्यले मुटुरोग पहिल्यैदेखि हुन सक्ने भएकाले त्यसलाई प्याकेजको रूपमा चेकअप गरेर ठीक भए मात्र कामदारलाई पठाउनुपर्नेमा जोड दिन्छन् । वैदेशिक रोजगारमा जाँदा गर्नुपर्ने स्वास्थ्य परीक्षणमा मुटुसम्बन्धी रोगलाई सरकारले समेटेको छैन ।
वंशाणुगत रोग, खानपिन, बसाइ, तनाव, कार्यशैली, मधुमेहजस्ता कारणले पनि मुटुरोग, उच्च रक्तचाप उत्पन्न गरेकाले परीक्षण तथा सचेतन फैलाउनुपर्ने उनी बताउँछन् । डा. शाक्य भन्छन्, 'जसरी हुन्छ पैसा कमाउ भन्ने दलालको कारण कामदारले अकालमा ज्यान गुमाउनुपरेको छ, उनीहरूको आवाज कसले सुनिदिन्छ ?'